Techie IT
  • बिहीबार, वैशाख १०, २०८३ / Thursday, April 23, 2026
गृहपृष्ठसमाचारप्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन

प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन


भक्तपुर, १३ चैतः बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आयुर्वेदिक अस्पतालको छड्के अनुगमन एवं निरीक्षण सुरु गरेको छ । स्वास्थ्यमन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा सुमित्रा गौतम, पूर्वस्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झालगायतको टोलीले बिहीबारबाट छड्के अनुगमन एवं निरीक्षण सुरु गरेको हो । यसै क्रममा ललितपुरमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालित बज्रबाराही चापागाउँ अस्पतालको सेवा सञ्चालन र प्रदेश मन्त्रालयको करिब रु १४ करोडको बजेटमा निर्माण भइरहेको अस्पताल भवनको निरीक्षण गरियो । मन्त्री थापामगरले नवनिर्मित भवनमा केही संरचना अपुग र अव्यवस्थित भएको भन्दै निर्माण सम्पन्न हुनु अगावै त्यस्ता संरचनालाई सच्याउन निर्देशन दिनुभयो । उहाँले ललितपुरको दुर्गम क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा लक्ष्मण खड्कासहितको टोलीलाई निर्देशन दिनुभयो । मन्त्री थापामगरले भन्नुभयो,“बज्रबाराही अस्पताल २५ शय्याको स्वीकृत भए पनि सबै शय्या सञ्चालन हुन सकेका छैनन् । यस अस्पताललाई छिट्टै ५० शय्यामा विस्तार गर्दैछौँ, यही अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थिेसिया डाक्टरसमेत पठाउँदा पनि सेवा सुरु हुनसकेको छैन, त्यसैले तत्काल सेवा सुधार्नुस् ।” निरीक्षणमा सहभागी मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले अस्पतालमा शल्यक्रिया, प्रयोगशालालगायत विभिन्न सेवाबारे मन्त्रालयमा गुनासा आएकाले त्यसमा सुधार गर्न निर्देशन दिनुभयो । अस्पतालका मेडिकल सुपरिटण्डन्ट डा खड्काले अस्पतालमा एक सय कर्मचारी रहेका र दैनिक दुई सय बिरामीले सेवा लिने गरेको जानकारी गराउनुभयो । टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको अनुगमन गर्दै मन्त्री थापामगरले जनस्वास्थ्य प्रमुख डा खगेश्वर गेलाललाई जिल्लाका दुर्गम गाउँपालिका र दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्री थापामगरले प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अवलोकन, निरीक्षण अभियान सुरु गरिएको जानकारी दिनुभयो । प्रत्येक जिल्लाको गाउँ गाउँमा स्वास्थ्यको सहज पहुँच पुर्याउन सरकार लागिरहेको र आफ्नो जिम्मेवारी बहन गर्न सबैलाई आवश्यक आग्रह र निर्देशन दिन अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।



तपाईको प्रतिक्रिया