चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ, १३ चैतः रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा आज दिउँसो विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयका कार्यालय सचिव वसन्तबहादुर खड्काले जानकारी दिनुभयो । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको इतिहास छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजाआराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको जानकारहरू बताउँछन् । यसैले उहाँलाई आदर्श राजाका रूपमा स्मरण गरिन्छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजाआराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिनुभएको धर्मशास्त्रमा उल्लेख छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया