दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
म्याग्दी, ८ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गर्नुभएको हो । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गर्नुभएको छ । “करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौमा बिताए”, उहाँले भन्नुभयो “विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हो ।” होमस्टे सञ्चालन गर्न विसं २०१९ मा हजुरबुबाले दर्मीजामा बनाएको घरलाई पुरानै मौलिक शैलीमा मर्मत गर्नुभएको छ । चार वटा कोठामा दैनिक १० जना पाहुना बास बस्न सक्छन् ।
घर र कोठामा परम्परागत मौलिक घरायसी सामग्री, भाँडाकुँडा र कृषि औजारलाई सजाएर राखिएको छ । काठको ठेकी, मुडुस, तामाका भाडा, घैटो, हलो, जुवा, स्याखु, हरडुब्लो, लाफु, डोका, डालीलगायतका सामग्री सजाएको घरका झ्याल, ढोका र भित्रि भाग पनि मौलिक छन् । यहाँ पुराना घरमा बसेको अनुभव गर्न पाइने आन्तरिक पर्यटक प्रदीप मगरले बताउनुभयो । पृष्ठभूमिमा धौलागिरि हिमाल रहेको दर्मीजामा मगर समुदायको बाहुल्य बसोबास छ । प्रकृति, संस्कृति र ग्रामीण जीवनशैलीमा रमाउन पाउनु यहाँको आकर्षण हो । घरबासको कोठाबाटै दर्मीजा गाउँ र हिमालको अवलोकन गर्न सकिन्छ । स्थानीय खाद्यान्न र तरकारी तथा पशुजन्य वस्तु होमस्टेका परिकार हुन् । ढिडो, रातो च्याउ, कुखुरा, खसीबोकाको मासु, साग, सब्जी, तरकारी, गाउँघरमा पालेका गाईभैँसीको दूध, दही र मोहीको स्वाद लिन पाइन्छ ।
खाना र बसेको दैनिक रु एक हजार ५० शुल्क तोकिएको छ । दर्मीजा गाउँको फेदी र राहुघाट नदीको किनारमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर थकान मेटाउन सकिन्छ । जागा छहरा दर्मीजाको आकर्षण हो । दर्मीजामा आउने पर्यटकको बसाई सम्बाउनका लागि दुई घण्टा पैदलयात्रापछि पुगिने नागींडाँडालाई सहायक गन्तब्यको रुपमा विकास गराउन पूर्वाधार निर्माण भइरहेको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । होमस्टेले ओझेलमा परेको दर्मीजामा पर्यटकको चहलपहल बढाएको उहाँले बताउनुभयो । बेनीदेखि २४ किलोमिटर उत्तरतर्फ रहेको दर्मीजा पुग्न कच्चि सडकमा एक घण्टा ३० मिनेटको यात्रा गर्नुपर्छ । दर्मीजादेखि चिमखोला हुँदै सोवाङ धुरी, धौलागिरि आइसफल, आधार शिविर र कालीबराह ताल हँुदै मुस्ताङ जान सकिन्छ ।
धौलागिरि आइसफल हुँदै मुस्ताङ जोड्ने पदमार्गमा पूर्वाधार बनाएर सडकका कारण विस्थापित बनेको बेनी–जोमसोमको वैकल्पिक पदमार्ग बनाउन काम भइरहेको छ । हाल वार्षिक दुईदेखि तीन समूह पर्यटक दर्मीजा हुँदै धौलागिरि आइसफल भएर मुस्ताङ जाने गरेको छन् । पुनले होमस्टेको साथै फलफूल बगँैचा पनि स्थापना गर्नुभएको छ । होमस्टे परिसरमा किबी, सुन्तला र कागतीका बगैँचा छन् । पुनका परिवारका सदस्यहरु काठमाडौँमै व्यवसाय गरेर बसेका छन् । होमस्टे र कृषि फार्ममा दुई जनाले नियमित रोजगारी पाएका छन् । अधिकांश मानिसहरु सुविधा, अवसर र रोजगारीको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन भइरहेको अवस्थामा विप्रसादले गाउँमै सम्भावना र अवसर भएको सन्देश दिनुभएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया