Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारषडानन्दद्वारा किसानलाई कृषि औजार वितरण

षडानन्दद्वारा किसानलाई कृषि औजार वितरण


भोजपुर, २० असारः भोजपुरको षडानन्द नगरपालिकाले ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यवसायिकरण परियोजना’ अन्तर्गत किसानलाई २७३ मिनि टिलर वितरण गरेको छ । कफि खेतीमा आवद्ध किसान तथा कृषि समूहलाई लक्षित गरेर मिनि टिलर वितरण गरेको हो । कफी खेती कार्यक्रमका लागि सङ्घीय सशर्त विषेश अनुदानमार्फत नगरपालिकाले एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । किसानको ५० प्रतिशत लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार दुई करोड ८९ लाख रुपैयाँ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिनुभयो । कफी खेतीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

साथै, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र स्थानीय उत्पादनको ब्रान्डिङमा जोड दिइएका उहाँको भनाइ छ । किसानलाई कफि खेतीमा प्रोत्साहन गर्न २७३ मिनिटिलरसँगै अन्य कृषि औजार वितरण गरिएको कृषि विकास शाखा प्रमुख शिला पुन मगरले जानकारी दिनुभयो । त्यसैगरी झारपात व्यवस्थापनका लागि २० वटा ब्रस कटर, विषादी तथा जैविक झोल पदार्थ छर्कन २५७ वटा स्प्रेयर पनि वितरण गरिएको छ । कफी खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक प्रणालीमा आधारित बनाउन नगरपालिकाले पर्याप्त मात्रामा जैविक मलसमेत उपलब्ध गराउने भएको छ ।

यसअन्तर्गत २२ हजार ६२० किलोग्राम गोठेमल तथा २१ हजार ३६० किलोग्राम हड्डी मल वितरण भइरहेको शाखाले जनाएको छ । साथै बगैँचा व्यवस्थापनका लागि १६ वटा सिकेचर वितरण गरिएको कृषि विकास शाखाले जनाइएको छ । यसपछि किसानलाई करिव ५० हजार कफीका बिरुवा वितरण गरिने जनाएको छ । बिरुवाको संरक्षण तथा रोग व्यवस्थापनका लागि ८६ लिटर खनिज तेल, १०० लिटर बोडो पेस्ट र ३३ लिटर इएम (इफेक्टिभ माइक्रोअर्गानिज्म) उपलब्ध गराइने जनाइएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्गानिक कफी उत्पादन गर्ने उद्देश्यले किसानलाई आवश्यक सहयोग गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । कफी खेती कार्यक्रमलाई नगरपालिकाले आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्य राखेको उहाँको भनाइ छ ।

नगरपालिका क्षेत्रमा बृहत रूपमा कफि खेती कार्यक्रम सञ्चालन गरिरहेका छौँ” प्रमुख उदासले भन्नुभयो, “कफी खेतीको विकासका लागि २७३ वटा मिनिटिलरसँगै अन्य कृषि औजार वितरण गरेका छौँ ।” षडानन्द क्षेत्रको भूगोल र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेकोले यहाँका क्षेत्रको अध्यायन पश्चात खेती विस्तारमा जोड दिइएको नगर उप–प्रमुख प्रमिला राईले बताउनुभयो । धेरै किसान लाभान्वित हुने यस कार्यक्रमले परम्गरागत खेतीलाई कम गर्दै नगदे तथा आधुनिक खेतीमा प्रोत्साहन प्रदान गर्ने उहाँको भनाइ छ ।

नगरपालिकाले सामग्री वितरणमा मात्र सीमित नरही किसानको ज्ञान, सीप र क्षमताको विकासमा पनि जोड दिएको छ । कफीलाई आयआर्जन र रोजगारीको भरपर्दो माध्यम बनाउने उद्देश्यले परियोजना कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दीर्घकालीन आर्थिक रूपान्तरणतर्फ उन्मुख हुने रणनीतिसमेत यस कार्यक्रमले अंगालेको नगरको भनाइ छ ।



तपाईको प्रतिक्रिया