बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र
कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको विपद् शाखाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दोदा र महाकाली नदीसँग जोडिएका वडा बाढी तथा डुबानको उच्च जोखिममा छन् ।
विशेषगरी वडा नम्बर ५ सबैभन्दा बढी जोखिममा रहेको छ भने वडा नम्बर २, ६, ८ र १० पनि डुबानको जोखिममा रहेका छन् । ती क्षेत्रका करिब एक हजार ५०० भन्दा बढी परिवार सम्भावित डुबानको उच्च जोखिममा रहेका छन् । सम्भावित विपद्को सूचना छिटो आदान–प्रदान गर्न समुदायस्तरीय विपद् व्यवस्थापन समिति (सिडीएमसी)लाई सक्रिय बनाइएको छ । समितिमा आबद्ध व्यक्तिहरूको वाट्सएप समूह गठन गरी बाढी वा अन्य विपद्को सूचना तत्काल प्रवाह तथा उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको पाण्डेयले जानकारी दिनुभयो ।
विपद् सम्पर्क व्यक्ति पाण्डेयका अनुसार नगरपालिकाले सबै वडामा विपद्का बेला आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिसकेको छ । खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एक–एक थान रबर बोट उपलब्ध गराइएको छ । साथै आपत्कालीन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइनुका साथै राहत तथा उद्धार सामग्री भण्डारणका लागि गोदामघरको व्यवस्था गरिएको छ । विपद्को सामना गर्न नगरपालिकाले रु ५९ लाखको विपद् कोष स्थापना गरेको छ । उक्त कोषमा जनप्रतिनिधि र कर्मचारीहरूले एक दिनको पारिश्रमिकस्वरूप रु एक लाख ७७ हजार ५५५ योगदान गरेका छन् ।
कोषको रकम विपद् प्रतिकार्य, राहत वितरण, क्षतिग्रस्त घर पुनर्निर्माण तथा विपद्पछि फैलिन सक्ने महामारी नियन्त्रणमा खर्च गरिने व्यवस्था मिलाइएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन २१ दिने तालिमप्राप्त २९ जना स्वयंसेवक समेत तयारी अवस्थामा राखिएको छ । पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका टोली गठन गरी प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताइएको छ । नगरपालिकाभित्र पर्ने नकैया नालामा बाँध निर्माणका साथै अवरुद्ध नाला तथा पानी निकासका संरचनाको सरसफाइलाई तीव्रता दिइएको छ ।
पाण्डेयका अनुसार होचा स्थानमा बनेका घर र सडक निर्माणसँगै पानीको प्राकृतिक बहाव अवरुद्ध हुनु तथा अधिकांश क्षेत्रमा व्यवस्थित ढल र नगरपालिकाका सबै क्षेत्रमा ड्रेनेज प्रणालीको व्यवस्था नहुनुका कारण सामान्य वर्षामै समेत डुबानको समस्या देखिने गरेको छ । नगरपालिकाले मनसुन अवधिभर सबै सरोकारवाला निकायसँग समन्वय गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया