रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कारबाही गरिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ । इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन् ।
केही स्थानमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले त्यसको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताले बताएका छन् भने कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू अवरोध गरिएको जनाएको छ । अमेरिकी अधिकारीका अनुसार इरानको पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताउँदै थप वार्ताका लागि ढोका भने खुला रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले ट्रुथ सोसलमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिनुभयो । एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले इरानी पक्षबाट सम्पर्क भएको दाबी गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गर्नुभएन । यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने स्पष्ट पार्नुभएको छ । उहाँले अमेरिकाले धम्की र प्रतिबद्धता उल्लङ्घनको परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि आक्रमण भए जवाफ पनि त्यहीअनुसार दिइने बताउनुभयो ।
फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राख्ने नीति अघि बढाउँदै आएको छ । तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्गबाट विचलित हुने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हालैका दिनमा इरानले कम्तीमा तीनवटा जहाजमा आक्रमण गरेको घटनापछि अमेरिकाले व्यापक सैन्य कारबाही थालेको हो । पछिल्ला आक्रमणहरू फेब्रुअरी २८ मा युद्धको सुरुआतमै मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको बिहीबार हुने अन्त्येष्टिअघि भएका हुन् ।
प्रारम्भिक आक्रमणमा दुवै पक्षले दर्जनौँ लक्ष्यमा प्रहार गरेको बताएका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार आठ जना इरानी सैनिक मारिएका छन् भने सेन्टकमले यसअघि ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो । क्षेत्रीय तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्नुभएको छ । अमेरिका–इरान संवादका मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि तनाव नियन्त्रणका लागि कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि क्षेत्रीय समस्या समाधानका लागि कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको इरानले जनाएको छ । हर्मुजको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि कुनै पक्षलाई प्रत्यक्ष दोष दिएको छैन । ओमानले युद्धभरि तटस्थ भूमिका कायम राख्दै जलघाँटीको प्रशासन र समुद्री सुरक्षासम्बन्धी विषयमा वार्तालाई निरन्तरता दिइरहेको छ । अमेरिका जहाजहरूको निःशुल्क आवागमनको पक्षमा रहे पनि इरानले शुल्क प्रणाली लागू गर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया