ढोरपाटन (बागलुङ), २८ असारः समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ ।
विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन । जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो । बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको छ । बर्खाको समयमा ढोरपाटन अरु बेलाभन्दा बढी रमणीय देखिने हुँदा यो सिजनमा पर्यटक बढी आउने गरेका हुन् । दैनिक २०० बढी पर्यटक ढोरपाटन आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उहाँको भनाइ छ ।
अध्यक्ष पुनले भन्नुभयो, “पहिला पनि ढोरपाटन उपत्यकामा अत्यधिक मात्रामा फूलहरू फूल्थे तर प्रचारप्रसार नहुँदा पर्यटक आउन सकेका थिएनन्, अहिले मिडिया र सामाजिक सञ्जालमा फोटो भिडियो आउँदा पर्यटकको आकर्षण बढेको छ, एक दशक अगाडि त ढोरपाटनमा पर्यटक खासै आउँदैनथे, यहाँका स्थानीय पनि घुम्ती बसाइमात्रै बस्ने गर्थे ।” स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । वनफूल पाटनैभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । चितवनको माडीका महेश थापाले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियो देखेर ढोरपाटन घुम्न आएको बताउनुभयो ।
गत वर्षदेखि नै ढोरपाटन घुम्न आउने योजना बनाएको भन्दै यसपालि १३ जनाको समूह वनफूल र्हेन आएको उहाँले सुनाउनुभयो । चारैतिर फुलेका वनफूल र यहाँको वातावरण निकै मनोरम लागेको थापाको भनाइ छ । दाङको तुल्सीपुरबाट आउनुभएका कुलेन्द्र पनेरुले ढोरपाटन आउँदा मन फुरुङ्ग भएको बताउनुभयो । दाङमा यतिबेला निकै गर्मी रहेको भन्दै ढोरपाटनमा भने निकै चिसो मौसम रहेको सुनाउनुभयो । यहाँको प्राकृतिक सुन्दरता र हावापानीका बारेमा प्रचार गर्न सके विदेशी पर्यटकलाई सहज रूपमा ल्याउन सकिने उहाँको भनाइ छ ।
ढोरपाटनसम्म आउने सडकको केही स्थानमा अप्ठ्यारो हुँदा सास्ती खेप्नुपरेको पनेरुले दुःखेसो पोख्नुभयो । बुर्तिबाङदेखि ढोरपाटनसम्म करिब ३२ किलोमिटर कच्ची सडकयात्रा गर्नुपर्छ । अहिले बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल भए पनि त्यसभन्दा माथिको खण्डको दुरावस्था छ । जसका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो सडकलाई व्यवस्थित गर्ने बताउनुभयो । अहिले कालोपत्र गर्नका लागि सडक फराकिलो बनाउने काम भइरहेको हुँदा केही स्थानमा हिलाम्मे बनेको भन्दै पर्यटकको यात्रालाई सहज बनाउन गेग्रेटा हालेर व्यवस्थित बनाउने उहाँको भनाइ छ । ढोरपाटनमा आउने सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको कायत बताउनुहुन्छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया