जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
म्याग्दी, २९ असारः बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकता दिँदै आएका छ ।
तर उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले बेनी नगरपालिका–६ रातोपहिरोस्थित कालीगण्डकी नदी किनारमा विसं २०६० देखि फोहर विसर्जन हुँदै आएको छ । रातोपहिरोको फोहर व्यवस्थापनस्थल कालीगण्डकी नदीको किनार तथा बेनी–जोमसोम सडकसँगै रहेकाले त्यसबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् । जलजला गाउँपालिका–२ बगरफाँटका हीराबहादुर बरुवालले खुला रूपमा फोहर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले दुर्गन्धको समस्या भोगिरहेको बताउनुभयो ।
उहाँका अनुसार बेनी–गलेश्वर हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटक र तीर्थयात्रीसमेत यसबाट प्रभावित हुने गरेका छन् । बेनी, गलेश्वर, तातोपानी, सिंगा र हाडेभिर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरीबाट दैनिक तीनदेखि चार ट्र्याक्टर फोहर सङ्कलन गरी रातोपहिरोमा विसर्जन गरिन्छ । नदी किनारमा फोहर नफाल्न तत्कालीन पुनरावेदन अदालत बागलुङले विसं २०७२ मा निषेधाज्ञा जारी गरे पनि विकल्प अभावमा सोही स्थान प्रयोग भइरहेको छ । बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ‘कम्प्याक्टर’ मेसिन र सवारीसाधनसहित पोखरास्थित ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’लाई मासिक रु एक लाख ६० हजारमा जिम्मेवारी दिएको छ ।
नगरप्रमुख सुरत केसीले सुरक्षित र दिगो ल्याण्डफिल साइटको विकल्प नपाएकाले हालको स्थान प्रयोग गर्नु बाध्यता भएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षदेखि फोहर छुट्याएर कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री छुट्याउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने काम सुरु गरिएको छ । यसले नदीमा प्रत्यक्ष फोहर पुग्ने अवस्था केही घटेको उहाँको भनाइ छ । नगरपालिकाले विभिन्न स्थानमा ल्याण्डफिल साइट निर्माणका लागि प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा सहमति जुट्न नसकेको जनाएको छ ।
कम्तीमा दुई रोपनी जग्गा आवश्यक पर्ने नगरप्रमुख केसीले जानकारी दिनुभयो । दुई वर्षअघि रातोपहिरो नजिकैको कालीगण्डकी किनारबाट भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरका लागि देवशिला उत्खनन गरिएको थियो । सोही क्षेत्रलाई ‘देवशिला उद्यान’का रूपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारले फोहर व्यवस्थापन स्थल हटाउनुपर्ने सर्त राखेको नगरपालिकाले जनाएको छ । ल्याण्डफिल साइटको विकल्प पहिचान नभएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधि, चुना र माटो नियमित रूपमा प्रयोग गर्न स्थानीयले माग गरेका छन् ।
हाल फोहर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहर छुट्याएर कवाडीमा बिक्री गर्ने गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कालीगण्डकी नदी हिन्दू आस्था, जैविक विविधता र प्राकृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण नदी भएकाले यसको संरक्षणका लागि वैज्ञानिक फोहर व्यवस्थापनको विकल्प तत्काल खोजिनुपर्ने बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया