Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारभ्रष्टाचार विरुद्धको कारबाही नरोकिएको छैन : प्रधानमन्त्री कार्की

भ्रष्टाचार विरुद्धको कारबाही नरोकिएको छैन : प्रधानमन्त्री कार्की


 काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ ।” निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको उहाँले बताउनुभयो । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उहाँले प्रस्ट्याउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी कहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्युरो छ, विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ, हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्, प्रभावकारी ढङ्गले चल्न सकुन, समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।”

अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको उहाँले बताउनुभयो ।



तपाईको प्रतिक्रिया