Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठराजनीतिमन्त्री घिसिङका सय दिनमा १०१ काम सार्वजनिक

मन्त्री घिसिङका सय दिनमा १०१ काम सार्वजनिक


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय १ वटा काम सम्पन्न गरेको दाबी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय काम सम्पन्न गरिएको बताए ।

उनले नेतृत्व लिएको टोलीले संकट व्यवस्थापन, पूर्वाधार सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

मन्त्री घिसिङका अनुसार जल तथा मौसम विज्ञान विभागलाई थप सक्रिय बनाउँदै मौसम र बाढीसम्बन्धी विशेष बुलेटिन प्रणाली लागू गरिएको छ । यसमार्फत जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना उपलब्ध गराइँदा सम्भावित क्षति न्यूनिकरणमा सहयोग पुगेको छ । उनले काठमाडौं उपत्यकामा लामो समयदेखि देखिँदै आएको बञ्चरेडाँडामा फोहोर विसर्जन अवरोध का कारण उत्पन्न फोहोर संकट समाधान गर्नु १०० दिनको प्रमुख उपलब्धिमध्ये एक भएको उल्लेख गरे । यसले राजधानीको जनस्वास्थ्य र सहरी व्यवस्थापनमा राहत पुगेको उनले बताए ।
त्यस्तै, वर्षौंदेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजना अन्तर्गत तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गर्नु पनि उल्लेखनीय उपलब्धि भएको मन्त्री घिसिङको भनाइ छ । यसले व्यापार, आवागमन र कूटनीतिक सम्बन्धलाई पुनः गतिशील बनाएको छ ।

मनसुनका कारण क्षतिग्रस्त वीपी राजमार्ग लाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याएर जनजीवन सहज बनाइएको, जोखिमपूर्ण सडक खण्डमा तत्काल मर्मत तथा व्यवस्थापन गरिएको विवरण पनि सार्वजनिक गरिएको छ । जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले परिणाममुखी काम, प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्व नै आफ्नो कार्यशैलीको आधार भएको बताए। आगामी दिनमा ऊर्जा उत्पादन, सुरक्षित पूर्वाधार, शहरी व्यवस्थापन र विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाइने उनको प्रतिबद्धता छ । कार्यक्रममा उनले १०० दिनका उपलब्धिसँगै आगामी कार्यकालमा कार्यान्वयन गरिने योजनाहरू पनि सार्वजनिक गर्दै जनअपेक्षा अनुसार नतिजा दिने गरी सरकार अघि बढ्ने स्पष्ट पारे ।

मन्त्री घिसिङले सार्वजनिक गरेका कामहरुको विवरण 

https://drive.google.com/file/d/1gpTOex5aNBQqAB1TbPEuuH1Sfdux5pR3/view



तपाईको प्रतिक्रिया