कांग्रेस–एमालेसँगको सहकार्यप्रति असन्तुष्टि, एक्लै चुनावमा जाने नेकपाको तयारी
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्ने विषयलाई पार्टी पंक्ति तथा आम नागरिकले नरुचाएको बताएका छन् । पछिल्लो समय देखिएको राजनीतिक सहकार्यको बहस जनस्तरमा सकारात्मक रूपमा नलिइएको उनको भनाइ छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु सामान्य प्रक्रिया भए पनि हालको सन्दर्भमा कांग्रेस–एमालेसँगको सहकार्यले नेकपाको वैचारिक र राजनीतिक पहिचान कमजोर बनाउने जोखिम देखिएको बताए ।
उनका अनुसार, राष्ट्रिय सभा निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव नेकपाले अघि सारेको भए पनि कांग्रेस र एमाले त्यसमा सहमत हुन सकेनन् । “राष्ट्रिय सभा निर्वाचनको प्रकृति आम निर्वाचनभन्दा फरक भएकाले केही समझदारीको प्रयास स्वाभाविक थियो,” सापकोटाले भने, “तर ठूला दलहरूबीच स्पष्ट सहमति नबन्दा त्यो प्रक्रिया अघि बढ्न सकेन।”
सापकोटाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट पारे । विगतमा विभिन्न दलसँग गठबन्धन गर्दा पार्टीको वैचारिक पहिचान मजबुत रूपमा स्थापित हुन नसकेको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ ।
“कांग्रेस र एमालेसँग मिल्ने कुरा बाहिर आएपछि पार्टीभित्र र आम जनतामा आलोचना बढ्यो,” उनले भने, “अब हामी स्वतन्त्र ढंगले जनतामाझ जान्छौँ । एक्लै चुनाव लड्नुपर्ने सुझाव पार्टी पंक्ति र नागरिकस्तरबाट आएको छ।”
उनले नेकपाले मुलुकको अग्रगामी एजेन्डा तथा ‘जेन–जी’ अर्थात् नयाँ पुस्ताले उठाएका सवालहरूलाई निरन्तर सम्बोधन गर्दै आएको दाबी पनि गरे । सो क्रममा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा स्पष्ट विचार र दीर्घकालीन दृष्टिकोणको अभाव रहेको टिप्पणी गरे । राजनीतिक दलहरूमा देखिएको यही विचारशून्यताका कारण देश राजनीतिक संकटतर्फ धकेलिएको उनको तर्क थियो ।
नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको आन्तरिक किचलोबारे प्रतिक्रिया दिँदै सापकोटाले त्यसले नेकपा वा समग्र राष्ट्रिय राजनीतिमा कुनै ठोस असर नपर्ने बताए । तर, कुनै पनि पार्टी फुटभन्दा एकता लोकतन्त्रका लागि हितकर हुने उनको धारणा छ । “कांग्रेसको आन्तरिक मामिला उनीहरूकै विषय हो,” उनले भने, “तर लोकतन्त्रका लागि पार्टीहरू विभाजन होइन, एकताबद्ध हुनु नै राम्रो हो।”
त्यसैगरी, उनले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दालाई यथाशीघ्र टुंग्याउनुपर्ने आवश्यकता औंल्याए । देशले भोगिरहेको राजनीतिक संकटको निकास अन्ततः निर्वाचनमार्फत नै सम्भव हुने उनको निष्कर्ष छ । स्थिर राजनीतिक वातावरण निर्माणका लागि जनताको मतबाट नयाँ जनादेश लिनु नै अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया