Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठमुख्य समाचारसन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति

सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति


विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदा धेरै मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच गहिरो परिवर्तन ल्याएको छ, जसले समाजमा गम्भीर असर पारेको एएनयूको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्तिका कारण करिब पाँच हजार जनाको मृत्यु भएको छ भने झन्डै ८० लाख मानिस विस्थापित भएका छन् । यस्ता विपत्तिबाट भएको आर्थिक क्षति ३६० अर्ब अमेरिकी डलर नाघेको बताइएको छ ।

बाढी, उष्णकटिबन्धीय चक्रवात, खडेरी र डढेलोजस्ता विपत्तिले ठूलो क्षति पुर्‍याएका छन् । यी घटनाले पानी, खाद्य तथा ऊर्जा प्रणालीमा श्रृंखलाबद्ध असर पार्दै संकटलाई अझ गहिरो बनाएको प्रतिवेदनमा उल्लेख छ ।

एएनयू फेनर स्कूल अफ इन्भाइरोनमेन्ट एन्ड सोसाइटीका प्राध्यापक अल्बर्ट भान डाइकका अनुसार पानीसँग सम्बन्धित प्रक्रियामा आएको परिवर्तनले विपत्तिहरू कुन समय र कुन स्थानमा हुने भन्ने कुरामा प्रत्यक्ष प्रभाव पारेको छ ।

उनका अनुसार सन् २०२५ मा बाढी, खडेरी र तापसम्बन्धी जोखिमहरू छोटो समयमै एउटै क्षेत्रमा पटक–पटक देखा परे, जसले तिनको संयुक्त प्रभावलाई झनै घातक बनाएको समाचारमा उल्लेख छ ।

प्रतिवेदनले वायुमण्डल, माटो र भू–जलको अवस्था, नदीको बहाव तथा सतही पानीको फैलावटमा आएको परिवर्तन सन् २०२५ का धेरै विनाशकारी जलवायु विपत्तिसँग नजिकबाट जोडिएको जनाएको छ ।

हिमालय क्षेत्रमा हिमताल फुटेर आएको बाढीदेखि भूमध्यरेखीय क्षेत्रमा आएका शक्तिशाली चक्रवातसम्मका विपत्ति असाधारण रूपमा उच्च तापक्रमसँग सम्बन्धित रहेको उल्लेख छ । युरोपमा अत्यधिक गर्मीका कारण मृत्यु र डढेलो बढेको छ भने दक्षिण तथा दक्षिणपूर्वी एसियामा मनसुनजन्य बाढीले व्यापक क्षति पुर्‍याएको छ ।

अनुसन्धानकर्ताले सन् २०२६ मा भूमध्यसागर क्षेत्र, अफ्रिकाको हर्न, ब्राजिल र मध्य एसियामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएका छन् । साथै साहेल क्षेत्र, दक्षिणी अफ्रिका, उत्तरी अस्ट्रेलिया तथा एसियाका धेरै भागमा बाढीको सम्भावना उच्च रहने अनुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया