Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिकांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक, ‘यो जित–हार होइन, लोकतन्त्रको विजय हो’

कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक, ‘यो जित–हार होइन, लोकतन्त्रको विजय हो’


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय शनिबार सार्वजनिक गरिएको छ।

सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकाबारे महत्वपूर्ण निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिनु कसैको हार–जित नभई विधि र लोकतन्त्रको विजय भएको कांग्रेसको ठहर छ। यस ऐतिहासिक परिवर्तनमा साथ दिने सबै नेता, कार्यकर्ता र शुभेच्छुकप्रति पार्टीले आभार व्यक्त गरेको छ।

बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भ्रातृ संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन आह्वान गरेको छ।

विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्किन पनि बैठकले आग्रह गरेको छ। यसलाई कांग्रेसले ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ को संज्ञा दिएको छ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै, देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास पनि व्यक्त गरिएको छ।

कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता दोहोर्‍याएको छ। पार्टीले मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने, समृद्ध नेपालको नेतृत्व गर्ने तथा नवयुवाको आकांक्षा र जनताको अपेक्षा पूरा गर्ने संकल्प गरेको छ।

साथै कांग्रेसले समुन्नत नेपाल निर्माणको महाअभियानमा सबैलाई थप स्नेह, विश्वास र साथ दिन अनुरोध समेत गरेको छ ।



तपाईको प्रतिक्रिया