Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिचुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा

चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


काठमाडौँ ।नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री निर्वाचनबाट सिधै चयन हुँदैनन्, तर पछिल्ला चुनावहरूमा दलहरूले मतदाता तान्न भावी प्रधानमन्त्रीको अनुहार अघि सार्ने चलन बढ्दै गएको छ।

यसपटकको निर्वाचनमा अहिलेसम्म कम्तीमा दुई दलले औपचारिक र दुई दलले अनौपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका छन् । निर्वाचनपछि सरकारको नेतृत्व आफ्नो हातमा आउने आशामा दलहरूले ‘लोकप्रिय अनुहार’लाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्ने रणनीति अपनाएका हुन्। यस्तो अभ्यास अन्य प्रजातान्त्रिक मुलुकहरूमा पनि देखिन्छ।

बालेन साह: रास्वपाको दाउ

अघिल्लो निर्वाचनमा चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। चुनावपछि प्रधानमन्त्री बनाउने समझदारीसहित नै बालेन रास्वपामा भित्रिएको बताइन्छ। तर यसको आधारभूत सर्त भनेको—रास्वपाले बहुमत ल्याउनुपर्छ।

बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्, जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यसले चुनावलाई थप रोचक बनाएको छ।

केपी शर्मा ओली: पुनरागमनको प्रयास

एमालेले औपचारिक रूपमा भावी प्रधानमन्त्री तोकेको छैन। तर पार्टीभित्र ओलीको विकल्प नरहेको नेताहरू बताउँछन्।

ओली स्वयं पनि विभिन्न सार्वजनिक भाषणमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै आएका छन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट बाहिरिएका ओली जनमतको बलमा पुनः सत्तामा फर्किन चाहन्छन्।

रास्वपालाई काउन्टर दिन एमालेले कांग्रेससँग चुनावी साँठगाँठ गर्ने रणनीति बनाएको थियो। ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आन्तरिक समझदारीसमेत भएको थियो। तर कांग्रेस विभाजनपछि यो योजना पूर्ण रूपमा असफल भएको छ। देउवाले पार्टीको आधिकारिकता गुमाएका छन् भने आधिकारिकता पाएका गगन थापा गठबन्धन नगरी चुनाव लड्ने पक्षमा छन्।

गगन थापा: कांग्रेसको नयाँ अनुहार

गगन थापा पनि भावी प्रधानमन्त्रीका प्रमुख दाबेदार हुन्। कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्नुको एउटा मुख्य कारण पनि यही थियो।

पार्टी एकताको अन्तिम प्रयासका क्रममा गगन पक्षले अघि सारेको ८ बुँदे प्रस्तावमा ‘भावी प्रधानमन्त्री तोकेर चुनावमा जानुपर्ने’ उल्लेख थियो। नाम नखुलाए पनि संकेत गगनतर्फ नै थियो।

अब कांग्रेसको आधिकारिकता गगन पक्षसँग पुगेपछि उनलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावना बढेको छ। यसअघि ‘मध्यमार्गी’ मानिएका डा. सुनील शर्मासमेत खुलेर गगनकै समर्थनमा उभिएका छन्। तर पार्टी विभाजनको अवस्थामा कांग्रेसले कति सिट ल्याउँछ भन्ने प्रश्न निर्णायक बन्नेछ।

हर्क साम्पाङ: आत्मघोषित दावेदार

अरूभन्दा फरक शैलीमा आफूलाई स्वयं भावी प्रधानमन्त्री घोषणा गर्ने नेता हुन्—धरान उपमहानगरका मेयर हर्क साम्पाङ।

उनले श्रम संस्कृति पार्टी गठन गरेर चुनावी मैदानमा उत्रिएका छन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बन्ने दाबी गर्दै काठमाडौं आएका उनी सफल भएनन्।

अब चुनाव जितेरै प्रधानमन्त्री बन्ने उनको दाबी छ। पूर्वी क्षेत्रमा जनजाति समुदायमा उनको पार्टीले केही लहर सिर्जना गरे पनि उनको प्रधानमन्त्री दावेदारीलाई राजनीतिक वृत्तमा गम्भीर रूपमा लिइएको छैन।

 



तपाईको प्रतिक्रिया