Techie IT
  • मंगलबार, वैशाख ८, २०८३ / Tuesday, April 21, 2026
गृहपृष्ठमुख्य समाचारवीरगन्ज महानगरमा करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गरिने

वीरगन्ज महानगरमा करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गरिने


वीरगन्ज (पर्सा), २ चैत : वीरगन्ज महानगरले करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गर्ने भएको छ । आज यहाँ वीरगन्ज महानगरद्वारा आयोजित कार्यक्रममा सरोकारवाला निकायले प्यान नम्बर स्थानीय तहबाटै जारी गरेर कर सङ्कलन प्रणालीलाई व्यवस्थित गराउनुपर्ने बताएका छन् । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले घरजग्गा बहाल कर सङ्कलन गर्ने एकल अधिकार स्थानीय सरकारको भए पनि उक्त कर अहिले सङ्घ सरकारमातहत रहेको आन्तरिक राजस्व कार्यालयमा जम्मा हुने परिपाटीले ठूलो राजस्व गुमाउनुपरेको गुनासो गर्नुभयो । “संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार बहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले महानगरपालिकाको कर सङ्कलन गर्ने अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । “करदाता सेवा कार्यालय खारेज भएपछि स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “कार्यालयले महानगरलाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन पनि तयार रहेका छौँ ।” सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै करसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । —



तपाईको प्रतिक्रिया