नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
चितवन, ४ चैतः नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो । “तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भन्नुभयो । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्याएको उहाँले बताउनुभयो । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उहाँले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताउनुभयो । वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ । केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया