बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
काठमाडौँ, ५ चैतः जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो । त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उहाँलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहनुभयो, “पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।” धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँ श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले भावुक हुँदै भन्नुभयो, “मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनुछ ।” उहाँका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरु रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन् । रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा हुनुहुन्छ । अब पहिलो काम उहाँ बुबालाई घर फर्काउन चाहनुहुन्छ । “स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र ?”, उहाँले भन्नुभयो, “स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरुलाई स्वदेशमै फर्काउन चाहन्छु ।” कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ । संसद्मा सप्तरङ्गी उपस्थीति समानुपातिक तर्फ प्रमाणपत्र लिन आउनेमा मधेश प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रुपमा देखिएका छन् । टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आउनुभएकी चितवनकी समिना मियाँले भन्नुभयो, “मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।” भरतपुर महानगरपालिका–१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुनुहुन्छ । नर्सिङ पेसामा आबद्ध उहाँले रुपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफुले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताउनुभयो । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य हुनुभएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि राजनीतिक रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पहिलो पटक सांसद हुनुभएको हो । मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उहाँले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।” नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताउनुभयो । रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जीले रास्वपाले घोषणा पत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताउनुभयो । लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहनुभएका नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बन्नुभएका गणेश विश्वकर्माले संविधानमा उल्लेखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताउनुभयो । रास्वपाका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “वादी समुदायको बास छैन, गाँस पनि छैन”, उहाँले भन्नुभयो, “संसद्मा वादीको आवाज सुनाउछु जस्ताको तस्तै र उनीहरुको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।” गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो । निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गर्नुभएको थियो ।
ताजा अपडेट
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया