चौधौँ राष्ट्रिय भूमिगत जल संगोष्ठी सम्पन्न
महेन्द्रनगर (धनुषा), १२ चैतः मधेस प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा १४औँ राष्ट्रिय भूमिगत जल संगोष्ठी आज जनकपुरधाममा सम्पन्न भएको छ । वातावरण, ऊर्जा तथा जल अनुसन्धान केन्द्रको सहकार्य तथा वाटरएड, युनिसेफलगायतका विकास साझेदारहरूको सहयोगमा आयोजित उक्त संगोष्ठीमा भूमिगत जलस्रोतको दिगो उपयोग, संरक्षण र व्यवस्थापनका विषयमा छलफल गरिएको छ । सो संगोष्ठीमा मधेस प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जहवारलाल कुशवाहाले प्रदेशमा बढ्दो जल सङ्कट र भूमिगत जलको अनियन्त्रित दोहनप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले वैज्ञानिक अध्ययन र नीतिगत सुधारमार्फत जलस्रोतको संरक्षणमा जोड दिनुभयो । मन्त्री कुशवाहाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभयो । पूर्वमन्त्री गणेश शाहले जलवायु परिवर्तनका कारण भूमिगत जलको पुनर्भरणमा असर परेको बताउँदै दीर्घकालीन रणनीति अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रविधिको उपयोग र अनुसन्धानमा आधारित नीति निर्माणमार्फत जल सङ्कट समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । प्रदेश नीति तथा योजना आयोग, मधेस प्रदेशका उपाध्यक्ष राजकुमार सिंहले प्रदेशको विकासका लागि जलस्रोत व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जल व्यवस्थापनलाई समग्र विकास योजनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा सोहनप्रसाद साहले भूमिगत जलको संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । वातावरण, ऊर्जा तथा जल अनुसन्धान केन्द्रका अध्यक्ष डा धुन्निराज पाठकले वैज्ञानिक अनुसन्धानका आधारमा जलस्रोतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ महाशाखाका महाशाखा प्रमुख लक्ष्मी पन्तले सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको विस्तारका लागि सरकारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । सोही अवसरमा युनिसेफकी अनिता मास्केले बालबालिका तथा समुदायको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खानेपानी तथा सरसफाइ क्षेत्रमा साझेदार संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संगोष्ठीका अध्यक्षता गर्नुभएका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार खङ्गले भूमिगत जलस्रोतको दिगो व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । संगोष्ठीमा विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि तथा नीतिनिर्माता सहभागी भई भूमिगत जलको दिगो व्यवस्थापनका उपायबारे आफ्ना धारणा राखेका थिए ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया