नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी
लुम्बिनी, १३ चैतः रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुनुहुन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा २०५२ सालदेखि स–परिवार स्थायी बसोबास गर्दै आउनुभएका लम्साल २०४७ असोज १८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मनुभएको हो ।
पहाडको सामान्य परिवारमा हुर्किएका सुनील बुवा बोधराज लम्साल र आमा जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान हुनुहुन्छ । विद्यालय तहको अध्ययन रुपन्देहीको भलबारीमै पूरा गर्नुभएका लम्सालले उच्च शिक्षा पनि स्थानीय लुम्बिनी इन्जिनियरिङ कलेजबाट गर्नुभएको हो ।
विद्यार्थीकालमा एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न रहेका लम्साल अनेरास्ववियुकोतर्फबाट सोही क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित हुनुभएको थियो । प्राविधिक दक्षता, राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनसम्बन्धी अध्ययन–अनुसन्धानमा उहाँको विशेष दख्खल छ ।
प्राविधिक अध्ययन, राष्ट्रिय परियोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनमा पनि उहाँको विशेष अनुभव छ । शैक्षिक यात्रा र प्राविधिक क्षमता मन्त्री लम्सालले सिभिल इन्जिनियरिङ विषयमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँ काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । विकासको स्पष्ट परिणामका लागि मुख्यतया योजना बनाउँदा लागत, समयरेखा, गुणस्तर मापदण्ड र अनुगमन प्रणाली स्पष्ट हुनुपर्ने उहाँ ठान्नुहुन्छ । विसं २०७९ को स्थानीय निर्वाचनपछि मन्त्री लम्सालले काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहको पूर्वाधार सल्लाहकारका रूपमा काम गर्नुभएको थियो ।
फोहर व्यवस्थापनलाई केबल सरसफाइको विषय होइन, वातावरणीय सन्तुलन, जनस्वास्थ्य र मानवअधिकारसँग जोडिएको संरचनागत विषयका रूपमा उहाँले व्याख्या गर्दै आउनुभएको छ । वैज्ञानिक, दीर्घकालीन र समुदायमैत्री समाधानबिना समस्या दोहोरिरहने उहाँको धारणा छ ।
नयाँ राजनीतिक दृष्टिकोण र अभियान राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री लम्साल सङ्गठन व्यवस्थापन, अभियान सञ्चालन र नीतिगत एजेन्डा अघि बढाउने भूमिकामा सक्रिय हुनुहुन्छ । सुशासन, गुणस्तरीय पूर्वाधार र युवा सशक्तीकरणलाई विशेष जोड दिँदै पारदर्शी सार्वजनिक सेवा प्रणाली विकास गर्नुपर्ने उहाँ धारणा राख्नुहुन्छ ।
प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज, छिटो र विश्वसनीय सेवा उपलब्ध गराउने मन्त्री लम्सालको प्रतिबद्धता छ । पूर्वाधार विकासका सन्दर्भमा उहाँ ‘मौसमी सडक’ को अवधारणाबाट बाहिर निस्कनुपर्ने र गुणस्तर मापदण्ड कडाइका साथ लागू नगर्दासम्म विकास दिगो नहुने उहाँको तर्क छ ।
ताजा अपडेट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया