एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
काठमाडौँ, ८ वैशाख : कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुग्नुभएको थियो । आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाउनुभएको थियो । अन्तिममा आफू तर्नुभयो । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थाप्नुभयो । त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तार्नुभयो । घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुग्नुभयो । साँझ झमक्क परिसकेको थियो । दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्याउने प्रस्ताव गर्नुभयो । तर पहलसिंहले दिलीपलाई भन्नुभयो, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भन्नुभयो, तर बुबाले मान्नुभएन । नभन्दै नदीको बीच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिनेबित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किनुभयो । रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गर्नुभयो । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिनुभएको थियो । पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोक्नुभयो । अनि नदी पार गर्न पौडिन थाल्नुभयो । नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवैजना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे । कतै फेला परेनन् । सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्यो । बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ । पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत हुनुहुन्छ । कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आउनुभएको छैन । श्रीमान्को भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ । पुल नहुँदा वारपार गर्न जोखिम यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन । जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ । कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटकपटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गर्नुभयो । अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उहाँले भन्नुभयो ।
ताजा अपडेट
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया