Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारन्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’


न्यूयोर्क (अमेरिका), ३० वैशाख : न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिनुभयो । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ ।

एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ–संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको हो । न्यूयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ । पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, सङ्गीत तथा वेषभूषा प्रदर्शनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्नु परेको उद्देश्य हो । विदेशीलाई नेपालको कला–संस्कृति देखाएर नेपाल घुम्न जान आकर्षित गर्न सकिने विश्वास आयोजकको छ ।

न्यूयोर्क विश्वका सबैभन्दा धेरै डलर अर्बपति (बिलेनियर) बसोबास गर्ने सहर हो । यस वर्षको कार्यक्रममा करिब ५० सङ्घ–संस्थाको सहभागिता रहने छ । हरेक सङ्घसंस्थाबाट पाँच जनाका दरले स्वयंसेवक परिचालन गरिनेछ । यस वर्ष करिब पाँच हजार नेपालीहरुको सहभागिता रहने अपेक्षा रहेको फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “परेडमा सहभागी झाँकीहरु २५ स्ट्रिटमा पुगेर सकिनेछन्, समापनस्थलमा तयार पारिएको स्टेजमा सांस्कृतिक कार्यक्रममा सीमित व्यक्ति मात्रै सहभागी हुनेछन् ।

नेपालल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ । आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिप्थ एभेन्यूसम्म पूरै सडक बन्द गरिने छ । सहभागीलाई ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ । त्यहाँबाट दिउँसो एक बजे परेड निस्कनेछ ।



तपाईको प्रतिक्रिया