Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारसीमामा किमको सैन्य कडाइ

सीमामा किमको सैन्य कडाइ


उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग जोडिएको सीमाक्षेत्रलाई थप सुदृढ बनाउँदै ‘अभेद्य किल्ला’ मा रूपान्तरण गर्न सेना नेतृत्वलाई निर्देशन दिनुभएको छ । युक्रेन युद्ध र मध्यपूर्वमा देखिएका आधुनिक युद्ध रणनीतिबाट प्रभावित उत्तर कोरियाले अब सीमाक्षेत्रको सुरक्षा संरचनालाई नयाँ ढङ्गले पुनर्गठन गर्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् । आइतबार आयोजित उच्चस्तरीय सैन्य बैठकमा किमले अग्रपङ्क्तिका सैनिक एकाइहरूलाई बलियो बनाउने तथा युद्ध रोकथामका लागि सैन्य तयारीमा ‘ठूलो परिवर्तन’ आवश्यक रहेको बताउनुभयो ।

सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेका तस्बिरहरूमा किम पूर्ण सैनिक पोशाकमा उच्च सैन्य अधिकारीहरूको बैठकको अध्यक्षता गरिरहेको देखिएको छ । बैठकमा किमले कमान्डरहरूलाई ‘कट्टर शत्रु’ विरुद्धको दृष्टिकोण अझ कडा बनाउनुपर्ने बताउनुभएको थियो ।

यद्यपि समाचारमा कुनै देशको नाम उल्लेख नगरिए पनि यसलाई स्पष्ट रूपमा दक्षिण कोरियातर्फ लक्षित सन्देशका रूपमा हेरिएको छ । केसीएनएका अनुसार किमले ‘युद्धलाई अझ प्रभावकारी रूपमा रोक्न’ अग्रपङ्क्तिका एकाइहरू तथा सैन्य–प्राविधिक पक्षसँग सम्बन्धित अन्य प्रमुख संरचनाहरूलाई थप सशक्त बनाउने योजनालाई महत्त्वपूर्ण निर्णयका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले दक्षिणी सीमाक्षेत्रमा तैनाथ सैनिक संरचनालाई पुनर्गठन गर्दै सीमारेखालाई ‘अभेद्य किल्ला’ मा बदल्ने सत्तारूढ दलको नीतिबारे पनि चर्चा गर्नुभएको बताइएको छ । किमले आधुनिक युद्धको स्वरूप परिवर्तन भइरहेकाले सेनाको सञ्चालन अवधारणालाई सबै क्षेत्रमा पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँका अनुसार सैन्य आधुनिकीकरणका परियोजनाहरू अब केवल स्थल, जल र हवाई शक्तिमा सीमित नरही नयाँ प्रकारका युद्धक्षेत्रलाई समेत समेट्ने गरी अघि बढाइनुपर्नेछ । विश्लेषकहरूले यसलाई उत्तर कोरियाले युक्रेनविरुद्धको रुसी युद्धबाट सिकेका अनुभवसँग जोडेर हेरेका छन् । दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि सियोलले पटक–पटक वार्ताको प्रस्ताव राखिरहे पनि प्योङयाङले त्यसप्रति कुनै सकारात्मक प्रतिक्रिया नदिइरहेको अवस्थामा यस्तो सैन्य बैठक आयोजना गरिएको हो ।

कोरिया राष्ट्रिय एकीकरण संस्थानका वरिष्ठ विश्लेषक होङ मिनका अनुसार किमका पछिल्ला निर्देशनहरूले आधुनिक युद्धको बदलिँदो स्वरूपबारे उत्तर कोरियाको बढ्दो चासो झल्काउँछन् । उहाँले युक्रेन युद्ध तथा मध्यपूर्वी द्वन्द्वमा प्रयोग भएका ड्रोन आक्रमण, सटीक प्रहार, विद्युतीय युद्ध र बहुआयामिक युद्धक्षेत्रको प्रभाव उत्तर कोरियाली सैन्य रणनीतिमा प्रत्यक्ष देखिन थालेको बताउनुभयो ।

होङ मिनका अनुसार किमले अघि सारेको अवधारणाले स्थल, समुद्र र आकाशमा सीमित परम्परागत युद्ध रणनीतिभन्दा बाहिर गएर पानीमुनिको गतिविधि, अन्तरिक्ष, विद्युतीय प्रणाली तथा साइबर क्षेत्रलाई समेत समेट्ने बहुआयामिक सैन्य संरचनाको सङ्केत गर्छ । यो बैठक त्यही दिन भएको थियो, जुन दिन उत्तर कोरियाको महिला फुटबल टोली आठ वर्षपछि पहिलो पटक दक्षिण कोरियामा पुगेको थियो । खेलकुद आदानप्रदानमार्फत दुई देशबीचको चिसिएको सम्बन्ध केही सहज बन्न सक्ने अपेक्षा गरिएका बेला प्योङयाङको यो सैन्य सन्देशले भने सीमाक्षेत्रमा तनाव अझ बढ्न सक्ने सङ्केत दिएको विश्लेषण गरिएको छ ।



तपाईको प्रतिक्रिया