गण्डकी, १७ असारः आठ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनलाई परिमार्जन गर्नुपरेका कारण आयोजना निर्माणमा थप ढिलाइ हुने देखिएको छ । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले ‘इआइए’ अन्तर्गत वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्न लागिएको बताउनुभयो ।
आयोजना निर्माणस्थलमा कटान गर्नुपर्ने रूखको गणना गर्दा प्रतिवेदनले औँल्याएभन्दा विपरीत रूखको सङ्ख्या घटबढ भएको पाइएपछि पुनः अध्ययन गरी रूखको सङ्ख्या यकिन गर्न लागिएको हो । “तीन वर्षअघि एआइए गर्दाको समयमा भन्दा अहिले गणना गर्दा कटान गनुपर्ने रूखको सङ्ख्या कतै कम त कतै बढी रहेको पाइयो”, महाशाखा प्रमुख ढकालले भन्नुभयो, “पहिले गणना गरिएका पुराना रूख ढल्दा र नयाँ बिरुवा हुर्केका कारण रूखको सङ्ख्या घटबढ भएको हो ।” दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रूखको गणना गरिएको थियो । वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि परामर्शदाता छनौट गरेर काम अगाडि बढाइने भएको छ । यसअघि परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयले कटान गर्नुपर्ने रूखको वास्तविक सङ्ख्या यकिन गरेर पठाउन उद्योग तथा पर्यटन मन्त्रालयलाई पत्राचार गरेको महाशाखा प्रमुख ढकालले बताउनुभयो । “वातावरणीय व्यवस्थापन योजना परिमार्जन भएपछि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढ्छ, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो । प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रूखको गणनासहित क्षेत्रफल यकिन गरेर सङ्घको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाइने महाशाखाले जनाएको छ । सो मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुनेछ । त्यसपछि बल्ल औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने जनाइएको छ । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहाखोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ ।
औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच तथा यकिन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ । जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा चार हजार ५०० रोपनी र लोकाहाखोलामा १४१ बिगाहामा औद्यागिक क्षेत्र निर्माण हुनेछ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहे पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । प्रदेश गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा प्रदेश सरकारप्रति नागरिकले पनि गुनासो गर्न थालेका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया