Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारबस्ती जोगाउन तटबन्ध निर्माण

बस्ती जोगाउन तटबन्ध निर्माण


पाँचथर, ३० असारः पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्ध तीन मिटर उचाइको छ ।

बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताउनुभयो । रु तीन करोडको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो । बाढीले बहाव परिवर्तन गरेपछि हेंवा खोलाले विगत तीन वर्षदेखि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा कटान गर्दै आएको छ ।

बाढी र कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने सिंचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन् । खोलाको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन यस वर्षदेखि तटबन्ध निर्माण थालिएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताउनुभयो । उहाँका अनुसार तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३÷८४ मा पनि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ । “स्थानीय सरकारको बजेटले नपुग्ने भएपछि हामीले सङ्घीय सरकारका कार्यालयमार्फत बजेट विनियोजनका लागि पहल गरिरहेका छौँ,” मंग्रातीले भन्नुभयो, “यस वर्ष कामको सुरुआत गर्न सफल भएका छौँ ।

हेंवा खोलाको दायाँबायाँ रहेको माझीटार बस्ती पछिल्लो समय तमोर नदीको बहाव परिवर्तनका कारण थप जोखिममा परेको छ । “एकातर्फ हेंवा खोलाले बर्सेनि क्षति पु¥याइरहेको छ, अर्कोतर्फ तमोर नदीको बहाव वस्तीतर्फ सोझिँदा जोखिम बढेको छ”, स्थानीयवासी वीरबहादुर माझीले भन्नुभयो, “तमोरतर्फ पनि तटबन्ध निर्माण गर्न जरुरी भइसकेको छ ।” नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको बताउनुभयो ।

माछाका परिकारका लागि प्रख्यात माझीटारमा स्वादिष्ट स्थानीय माछाका कारण फिदिम आउने अधिकांश पर्यटक पुग्ने गर्छन् । तर बस्ती नै बाढीको जोखिममा परेपछि स्थानीयवासी र व्यवसायी चिन्तित रहेको अवस्थामा तटबन्धले केही राहत दिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा थप व्यवस्थित संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।



तपाईको प्रतिक्रिया