श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न
म्याग्दी, २३ चैत : बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो ।
नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो । जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्नुहुन्छ ।
चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मासु र खानाका परिकार उहाँहरू आफँै तयार पार्नुहुन्छ । स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् ।
सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सा¬ङ्केतिक भाषामा ग्राहकले कुराकानी गर्छन् । फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उहाँहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराउनुभयो । म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आउनुभएका शङ्कर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण साङ्केतिक भाषा खाजाघरलाई रोजेको बताउनुभयो ।
“उहाँहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ”, उहाँले भन्नुभयो “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ ।” दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताउनुभयो । दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ ।
हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उहाँहरूका परिवार बागलुङमै बस्नुहुन्छ । धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शङ्कर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिङ्गामा आउनुभएको थियो । शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो ।
घारबाट रु तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झनुहुन्छ । हाल उहाँहरूको व्यवसायमा करिब रु १० लाखको लगानी छ । सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ ।
पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउनुभयो । “अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ”, उहाँले भन्नुभयो “उहाँहरूले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।
हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उहाँहरूले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाउनुभएको छ । पुँजीको अभाव र सबै ग्राहकले साङ्केतिक भाषा नबुझ्नु उहाँहरूका लागि व्यवसायमा चुनौती बनेको छ ।
ताजा अपडेट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया