इरान र अमेरिकाबीच मध्यपूर्वको तनाव अन्त्य गर्न प्रारम्भिक समझदारी बनेलगत्तै इरान र ओमानले हर्मुज जलघाँटीको भविष्यको व्यवस्थापनबारे पहिलो औपचारिक बैठक गरेको इरानले जनाएको छ । ऊर्जा आपूर्तिका दृष्टिले विश्वकै महत्त्वपूर्ण समुद्री मार्ग मानिने हर्मुजको प्रशासन र सञ्चालनबारे दुवै देशबीच छलफल सुरु भएको हो । इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले मस्कट भ्रमणका क्रममा संयुक्त हर्मुज समितिको पहिलो बैठक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा जलघाँटीसँग सम्बन्धित वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको व्यवस्थापन र सहकार्यका विषयमा विचार आदानप्रदान गरिएको थियो ।
इरान र ओमानलाई छुट्याउने हर्मुज जलघाँटी करिब ३० किलोमिटर चौडा समुद्री मार्ग हो । यहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास निर्यात हुने गर्दछ । हालैको इरान–अमेरिका तनाव र त्यसपछि भएको समझदारीपछि यस जलमार्गको नियन्त्रण र व्यवस्थापन प्रमुख विवादको विषय बनेको छ । इरानले युद्धअघि नभएको सेवा शुल्क लागू गर्ने सम्भावनाबारे विचार गरिरहेको सङ्केत दिएको छ । तर अमेरिकाले हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै पनि प्रकारको शुल्क स्वीकार्य नहुने अडान राखेको छ ।
ओमानले पछिल्ला दिनमा यस विषयमा मिश्रित धारणा प्रस्तुत गरेको छ । इरानी अधिकारीहरूको भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा दुवै देशले जलघाँटीको भावी व्यवस्थापनसँग सम्बन्धित लागत र प्रशासनिक विषयको अध्ययन गरिरहेको बताएका थिए । तर त्यसको केही दिनपछि ओमानले कुनै मार्ग शुल्कको योजना नरहेको सङ्केत गर्दै संयुक्त राष्ट्रसङ्घसँगको समन्वयमा आफ्नो तट नजिक अस्थायी समुद्री मार्ग खोल्ने घोषणा गरेको थियो ।
इरानले भने आफ्नो तटीय क्षेत्र हुँदै सञ्चालन हुने मार्गलाई मात्र आधिकारिक कोरिडोर मानिने स्पष्ट पारेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव थप बढाउन सक्ने चेतावनी दिनुभएको छ । हालैको सैन्य तनावका क्रममा इरानले जलघाँटीमा एक व्यापारिक जहाजमाथि आक्रमण गरेको थियो भने त्यसको जवाफमा अमेरिकाले इरानी तटीय क्षेत्रमा सैन्य कारबाही गरेको थियो ।
त्यसपछि दुवै पक्षबीच भएको समझदारीअनुसार इरानले ओमान र अन्य खाडी मुलुकसँग परामर्श गरी अन्तर्राष्ट्रिय कानून तथा तटीय राष्ट्रहरूको सार्वभौम अधिकारअनुसार हर्मुजको भविष्यको प्रशासन र समुद्री सेवाबारे वार्ता गर्ने सहमति भएको छ । समझदारीपत्रअनुसार सम्झौतापछि ६० दिनसम्म जलघाँटीबाट हुने आवागमनमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । तर त्यस अवधिपछि मार्ग सञ्चालन, शुल्क व्यवस्था र प्रशासनिक ढाँचाबारे अझै स्पष्टता आएको छैन, जसले आगामी वार्तालाई थप महत्त्वपूर्ण बनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया