कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी सङ्गठन झन् बलियो हुन्छ : महामन्त्री थापा
काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
पुस २७ र २८ गते सञ्चालन हुने विशेष महाधिवेशन आज आइतबार दिउँसो १ः०० बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुने तय भएको छ। उद्घाटनअघि बिहान ११ः०० बजे सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत स्थानबाट नेता–कार्यकर्ता भेला भई ¥यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। मञ्चअगाडि खुला चौरमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए। मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्री राखेर सजाइएको छ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने कार्यक्रम रहेको छ। विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन। देशभरबाट सहभागी हुने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुगेको आयोजक समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ः०० बजेदेखि भृकुटीमण्डपको मूल ढोकासँगै रहेका प्रदर्शनकक्षबाट भइरहेको व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
त्यसैगरी, प्रतिनिधिहरूका लागि कार्यक्रम स्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ भने थप चार सय प्रतिनिधिका लागि आवश्यक परे तत्काल व्यवस्थापन हुने प्रबन्ध मिलाइएको छ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका विषयमा भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशन
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग दर्ता भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने कानुनी बाध्यता रहेको बताएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउने उद्देश्यसहित विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।
उनीहरूले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूप नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी पुनर्निर्माणका लागि विशेष निर्णय आवश्यक भएको उल्लेख गरेका छन्। यस्तो प्रस्ताव विशेष कारणसहित प्रतिनिधिहरूले निवेदनमार्फत दर्ता गरेकाले विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रीय नेतृत्वको जिम्मेवारी भएको उनीहरूको भनाइ छ।
महामन्त्रीद्वयले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकताबद्ध राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो। यद्यपि, महाधिवेशनप्रति पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया