जेनजी सहिदकी दिदी सुशीला भन्छिन्, ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’
काठमाडौं । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गरे । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गरे । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गरेका थिए । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरेका थिए ।
तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी (विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, ‘दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?’ विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो ।
हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उनी भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि गए । सबै वार्ड हेर्दा पनि विजय भेटिएनन् । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देखे । सुशीला भावुक हुँदै भन्छन्, ‘घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।’
सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुन् । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उनले इञ्जिनियरिङ पढाउन सहयोग गरेका थिए । विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बसेका विजयका दाइ अजय कामको खोजीमा छन् । गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे–अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।
हुन पनि विजय परिवारप्रति व्यावहारिक र जिम्मेवार थिए । त्यसैले उनी सबैको प्यारो थिए । आमा बुवाको आँखामा उनी हिरा थिए । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्छन्, ‘उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।’
अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिन्छन् । ‘मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरू कसले गुमायो होला र ?’ उनी बोल्दा बोल्दै रोक्किन्छन् । विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिन्छन् । अमित भन्छन्, ‘देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।’
विजयका बुवा दमको रोगी छन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहेका विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउछिन् । जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र छन् । ‘सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्’, दिदी सुशीला भन्छिन् ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया