आकर्षक पर्यटकीयस्थल बन्दै रत्नेचौरको बुढो पोखरी
गलेश्वर (म्याग्दी), ४ चैतः बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको बूढो पोखरीतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । विसं १८६६ मा निर्माण भएको यो पोखरीको पुनःनिर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि रत्नेचौर आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । कृषि, धार्मिक र पर्यापर्यटनको त्रिधाम भनेर चिनिने रत्नेचौरमा बेनी–बागलुङ सडक खण्डको पश्चिम उत्तर खण्डमा अवस्थित बूढो पोखरी धौलागिरि क्षेत्रकै ठूलो मानवनिर्मित पोखरी हो । यस पोखरीमा संसारकै सातौँ अग्लो (आठ हजार, १६७ मिटर) धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै जलहाँसको सुन्दर क्रिडा देख्न सकिन्छ । स्थानीय भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं रत्नेचौरको विकास र प्रचारप्रसारमा लागि पर्नुभएका युवा भरत खत्रीका अनुसार ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको सौन्दर्यलाई उजागर गर्नुका साथै पर्यटकको ध्यान खिच्न सफल भएको छ । “रत्नेचौर प्राकृतिक सुन्दरताले युक्त कृषि गाउँ हो । उत्तरतर्फ चाँदी झै टल्किने हिमाल, समथर फाँटमा झुलिरहने बाली, चिटिक्कको गाउँ, खेतको फाँटको बिचमा लमतन्न परेको पक्की सडक, पारीपट्टी देखिने शालग्राम सङ्ग्रहालय र पञ्चकोट धाम, कालीगण्डकी नदी, म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका दर्जनौँ गाउँको दृश्यावलोकन यहाँबाट गर्न सकिने भएकाले पछिल्लो समय पयर्टकहरुको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँटमा अवस्थित रत्नेचौरमा पछिल्लो समय राजनीतिक दलका नेता, चलचित्र छायाङ्कनका लागि आउने गरेका विक्रम बोगटीले बताउनुभयो । “तोरीबारी र सडकका कारण देश विदेशमा भाइरल बनेको रत्नेचौर गाउँमा पछिल्लो समय बूढोपोखरी र दुई जिल्ला जोड्ने (म्याग्दी–बागलुङ) झोलुङ्गे पुल थपिएपछि गाउँको आकर्षण नै बढेको छ”, उहाँले भन्नुभयो । बूढोपोखरीमा जलहाँस पौडिरहेको दृश्य अत्यन्त आकर्षक देखिन्छ । विसं १८६६ मा राजा गीर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नेचौरका वसन्त बोगटीले राजाको इच्छा मुताविक यो पोखरी निर्माण गर्न लगाएको इतिहास छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याइ यो पोखरी निर्माण गरिएको बताइन्छ । पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार निर्माण गरिएका छन् । यो पोखरीमा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब देखिने गर्छ ।
ताजा अपडेट
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया