लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना
राँझा (बाँके), ४ चैतः नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ । स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा डा विनोद ढकाललाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात आज हस्तान्तरण गर्नुभयो । गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “खजुरामा क्यान्सर अस्पताल र कृषि क्याम्पस जस्ता प्रतिष्ठित संस्थालाई स्थानीयले जसरी अपनत्व दिएका छन् । यो विश्वविद्यालयले त्यस्तै माया र साथ पाउनेछ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई आवश्यक सहयोग र समन्वयका लागि गाउँपालिका सधैँ तत्पर रहेको छ ।” उपकुलपति प्रा डा विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधि अगाडि बढ्ने जानकारी दिनुभयो । “भवनको आवश्यक मर्मत सम्भार गरी लगत्तै केन्द्रीय कार्यालय सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो, “पचास बिघा जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जग्गा प्राप्त हुनासाथ भौतिक पूर्वाधार निर्माणको कामले गति लिने छ ।” विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जग्गा प्राप्तिको कानुनी अल्झनका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुने गरेको बताउनुभयो । सुरुमा ९४ बिघा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिघामा झारिएको र सो फाइल सङ्घीय मन्त्रिपरिषद्मा निर्णयको पर्खाइमा रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यसलाई कानुनी रूपमा स्थापित गरेको थियो । खजुरामा भवन प्राप्त भएसँगै अब विश्वविद्यालयको स्थायी उपस्थितिको सुनिश्चितता भएको छ । हाल यो विश्वविद्यालयले नेपालगञ्जमा अस्थायी मुकाम बनाएर प्राविधिक, सूचना प्रविधि र इञ्जिनियरिङका कक्षा सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया