Techie IT
  • आईतबार, वैशाख ६, २०८३ / Sunday, April 19, 2026
गृहपृष्ठमुख्य समाचारएक सय सात वर्षीय वृद्धद्वारा महोत्सव उद्घाटन

एक सय सात वर्षीय वृद्धद्वारा महोत्सव उद्घाटन


दमौली (तनहुँ), ६ चैतः तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा आजदेखि सुरु भएको पाँचाैँ शुक्लागण्डकी महोत्सवको १०७ वर्षीय ज्येष्ठ नागरिक गणेशबहादुर राउतले उद्घाटन गर्नुभएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको शुक्लागण्डकी नगरपालिका-३ बनकेवा निवासी राउतले उद्घाटन गर्नुभएको हो । सोक्रममा तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले राउतलाई साथ दिनुभएको थियो । ‘आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धनः शुक्लागण्डकी महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको महोत्सव यही चैत १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव उद्घाटनका क्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य न्यौपानेले ऊर्जाको माध्यमबाट देशले फड्को मार्ने बताउँदै सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य युवराज राजभण्डारी, नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेश उपाध्यक्ष सूर्यबहादुर भुजेल, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन शाक्य, महिला उद्यमी विकास समिति शुक्लागण्डकी अध्यक्ष मनिषा विकलगायतले महोत्सवले यस क्षेत्रको आर्थिक चलायमान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । स्थानीय उत्पादनको बजारीकरण तथा क्षेत्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले कृषि तथा घरेलु उद्यमका कक्ष (स्टल)लाई विशेष स्थान दिइएको छ । महोत्सवमा १७५ स्टल रहेका छन् । महोत्सव संयोजन समितिका प्रवक्ता सुजन श्रेष्ठका अनुसार महोत्सव अवधिमा करिब दुई लाख दर्शक तथा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवबाट रु छ लाख ५० हजार बचत हुने अनुमान गरिएको उहाँले बताउनुभयो । महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम पनि समावेश गरिएका छन् । पालिकास्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नृत्य प्रतियोगितामा प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रत्यौली प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।



तपाईको प्रतिक्रिया