सारङ्गीको धुनमा गुजारा
दमौली (तनहुँ), १५ चैतः बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ ।
परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताउनुभएको छ । वर्षौँदेखि उहाँहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने । बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उहाँहरू सारङ्गी बजाएर लोकगीत गाउनुहुन्छ ।
उहाँहरूको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ । यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो । “कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ”, लोकबहादुरले भन्नुभयो ।
उहाँका अनुसार दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन । उहाँहरुका चार जना छोराछोरी छन् । उहाँहरूले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन् । “आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो”, डल्ली गन्धर्व भन्नुहुन्छ । उहाँहरु गीत गाउँदै देशका विभिन्न जिल्ला पुगिसक्नुभएको छ ।
पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उहाँहरूको जीवन बितेको छ । आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ ।
नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउनुहुन्छ । “यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । गन्धर्व दम्पतीको कथा केवल जीविकोपार्जनको कथामात्र होइन, यो सङ्घर्ष, आत्मसम्मान र सांस्कृतिक संरक्षणको कथा पनि हो ।
ताजा अपडेट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया