म्याग्दी, ९ चैतः मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयवासी आफै अग्रसर भएका बताउनुभयो । “वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङवासी सडक फराकिलो पार्न आफै अग्रसर भएकाले निर्माण व्यवसायीलाई काम गर्न सजिलो भएको छ ।” धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्शाङ्कन भएको छ । धौलागिरि टोलका अध्यक्ष मेख पुनले बैठक मार्फतनै सडक फराकिलो पार्नका लागि मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताउनुभयो । धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर विवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरुको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताउनुभयो । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलङ्गे पुलतर्फ सडकको दायाँबायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो । यस वर्ष सङ्घीय सरकारको समपुरक योजनामार्फत दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन योजना निर्माण सुरु भएको छ । रु. एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्स छनोट भएको छ । विसं २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको योजना आगामी २०८३ असार १५ गते सम्पन्न गर्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ । सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ । तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।
ताजा अपडेट
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
- पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति
- नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
- दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
- छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
- राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव
- बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
- भिरबाट लडेर दुई जनाको मृत्यु
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया