Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारराष्ट्रिय सभा अध्यक्षको दाबी: लुटिएका हतियार र फरार कैदी निर्वाचनका लागि बाधक

राष्ट्रिय सभा अध्यक्षको दाबी: लुटिएका हतियार र फरार कैदी निर्वाचनका लागि बाधक


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले आगामी फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उनको भनाइ छ । निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भएपनि अहिले त्यस्तो वातावरण बन्न नसकेको उनले बताए ।

उनले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठेपनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको बताए । त्यसबेला राजनीतिक दलहरूको सहमतिमा बनेको सरकार भएकाले निर्वाचन आयोग र सरकारलाई काम गर्न सहज भएको उनले स्मरण गरे।

तर अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहौल बनाउन त्यति संलग्न नभएको उनले बताए। अध्यक्ष दाहालले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष दाहालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरु पनि निर्वाचनको लागि अर्को जटिल पक्ष भएको बताए। सरकारले निर्वाचन गराउन उचित वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया