Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठराजनीतिगगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग

गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग


काठमाडौँ ।  नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ता अघि बढाउँदै आठ बुँदे नयाँ प्रस्ताव तयार पारेको छ। प्रस्तावको प्रमुख अंश गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने रहेको छ।

महामन्त्री विश्वप्रकाश शर्माले सानेपामा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव पठाएर सहमतिको प्रयास गरिरहेका छन्। कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्ने उद्देश्य प्रस्तावमा उल्लेख गरिएको छ।

यसअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलमा गगन थापा र विश्वप्रकाशले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए। साथै, आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग अघि सारिएको थियो।

संस्थापन पक्षले केही बुँदामा लचकता देखाएको भए पनि, कार्यवाहक सभापतिको हस्ताक्षरमा टिकट वितरणबारे सकारात्मक संकेत दिएको बताइएको छ। प्रस्तावले संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र आगामी राजनीतिक दिशामा सहमति खोज्ने लक्ष्य राखेको छ।

विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार, गगन थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने प्रस्तावले पार्टीमा नयाँ पुस्ताको नेतृत्व अघि बढाउने सन्देश दिनेछ। सहमति जुटेमा कांग्रेस एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने तयारीमा रहने अपेक्षा गरिएको छ।

आठ बुँदे नयाँ प्रस्ताव :

कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने।

विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने।

प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने।

चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने।

टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने।

निर्वाचन केन्द्रित हुने ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने।

उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने।

विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरू पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने। मागहरु अघि सारिएका छन् ।



तपाईको प्रतिक्रिया