Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिजेन–जी आन्दोलनपछि झापा फर्किए ओली, बालेन पनि मैदानमा

जेन–जी आन्दोलनपछि झापा फर्किए ओली, बालेन पनि मैदानमा


झापा । झापा क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी तीव्र बनेको छ।

जेन–जी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा आइपुगेका छन्। ओली हवाईमार्ग हुँदै भद्रपुरस्थित चन्द्रगढी विमानस्थल अवतरण गरेका हुन्, जहाँ उनलाई पार्टीका नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए। त्यसपछि उनी विर्तामोड हुँदै दमकतर्फ प्रस्थान गरेका छन्। एमाले झापाका अनुसार ओली आजदेखि दमकस्थित होटलमा बस्ने कार्यक्रम छ।

पुस २१ गते स्थान हद फुकुवा भएपछि ओली पहिलो पटक झापा आएका हुन्। यसअघि गत भदौमा भएको जेन–जी आन्दोलनपछि उनी लामो समयसम्म गृह जिल्ला आउन सकेका थिएनन्। ओलीको झापा आगमनलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ, किनकि उनी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। आज दिउँसो दमकस्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै पूर्ण रूपमा चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्। उनले मतदातामा त्रास, डर–धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अपेक्षित चुनावी माहोल नबनेको बताए। यद्यपि, उनले नेकपा एमाले निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

उता, यही निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, बालेन पनि आजै झापा आइपुग्ने तयारीमा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन जनकपुरधाममा आयोजित रास्वपाको सभालाई सम्बोधन गरेपछि सडक मार्ग हुँदै सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा समर्थकहरूसँग भेटघाट गर्दै दमक आउने कार्यक्रम छ।

रास्वपाका अनुसार इटहरीदेखि नै समर्थकहरूको र्‍यालीसहित स्वागतको तयारी गरिएको छ। ठूलो संख्यामा समर्थक उपस्थित हुने अनुमान गरिएको छ, जसका कारण भीड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताइएको छ। यही कारण बालेन कहाँ बस्ने भन्ने विवरण सार्वजनिक गरिएको छैन। उनी आज राति करिब ९ देखि १० बजेको बीचमा दमक पुग्ने सम्भावना छ।

ओली र बालेन दुवैको एकै दिन झापा आगमनसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ। जेन–जी आन्दोलनपछिको राजनीतिक पुनरागमन र वैकल्पिक राजनीतिका दाबीबीचको यो भिडन्तले राष्ट्रिय राजनीतिमा समेत चर्चा बढाएको छ।



तपाईको प्रतिक्रिया