संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौँ, २३ वैशाखः संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त छलफल गरेको हो ।
छलफलमा सहभागी पूर्वमहान्यायाधिवक्ताहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीय संरचना, न्यायपालिकाको पुनःसंरचना, संवैधानिक निकायको सङ्ख्या तथा समावेशितालगायत विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो । पूर्वमहान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले संविधान संशोधनको उद्देश्य र आवश्यकता स्पष्ट रूपमा परिभाषित गर्न कार्यदललाई सुझाव दिनुभयो ।
उहाँले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सकिने तथा केही अन्तरराष्ट्रिय अभ्यास अध्ययन गर्नुपर्ने बताउनुभयो । पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले संविधान वा कानुनभन्दा त्यसको कार्यान्वयन गर्ने सोच र आचरण महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले शासकीय स्वरुप परिवर्तन आवश्यक नरहेको धारणा राख्दै विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने उल्लेख गर्नुभयो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको सङ्ख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर गाभ्नुपर्ने राय पूर्वमहान्यायाधिवक्ता भण्डारीले व्यक्त गर्नुभयो ।
न्याय परिषद् तथा संसदीय सुनुवाइको संरचनामा पनि पुनर्विचार गर्न सकिने उहाँको भनाइ थियो । पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सांसद मन्त्री बन्न नहुने, न्यायपालिकाको पुनसंंरचना आवश्यक रहेको तथा संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले संविधान कार्यान्वयन, राज्य निर्माणमा नेतृत्वको चरित्र र नैतिकताको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले संवैधानिक आयोगको सङ्ख्या पुनरावलोकन गर्न सुझाव दिनुभयो । पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले हाल प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, संसद्प्रति उत्तरदायित्व, न्यायपालिकाको पुनःसंरचना तथा उच्च अदालतलाई थप सुदृढ बनाउने विषयमा सुझाव प्रस्तुत गर्नुभयो । प्रदेशको सङ्ख्या घटाउनुको सट्टा प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा थियो । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शासकीय स्वरुपबारे स्पष्ट राजनीतिक धारणा आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । संविधानसभा सदस्य सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आफ्नो धारणा राख्नुभयो ।
उहाँले न्यायपालिकाको पुनसंंरचना आवश्यक रहेको उल्लेख गर्दै संवैधानिक आयोगको सङ्ख्या मात्र घटाएर समस्या समाधान नहुने बताउनुभयो । संस्थाको प्रभावकारिता नेतृत्व र पदाधिकारीको इमान्दारितासँग जोडिने उहाँको भनाइ थियो । प्रतिनिधिसभा सदस्य परशुराम तामाङले अन्तरराष्ट्रिय सम्झौता, मधेसी, मुस्लिम तथा आदिवासी समुदायका सवाल संविधान संशोधनको बहसमा समेटिनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तह र प्रदेशलाई प्रभावकारी बनाउन बाझिएका अनुसूची हटाउनुपर्ने, निर्वाचन प्रणालीमा दल, समुदाय र व्यक्तिको छनोट सुनिश्चित गर्ने व्यवस्थाको आवश्यकता तथा राष्ट्रियसभामा प्रतिनिधित्वको ढाँचा पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो ।
पूर्वकानुन सचिव राजीव गौतमले शासन प्रणाली स्पष्ट हुनुपर्ने, संवैधानिक आयोगको सङ्ख्या पुनरावलोकन गर्नुपर्ने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी र छोटो बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले न्यायाधीशको कार्यसम्पादन मूल्याङ्कन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यदलका संयोजक शाहले १० वर्षपछि संशोधनको अवधारणा, राजनीतिक दलबीच बढ्दो बहस र पछिल्लो नवपुस्ता (जेनजी आन्दोलन) बाट आएको भ्रष्टाचार अन्त्य र सुशासनको मागले संविधान संशोधनको आवश्यकता महशुस भएको स्पष्ट पार्नुभयो । उहाँले प्राप्त सुझाव बहसपत्र तयारीका लागि महत्वपुर्ण भएको बताउनुभयो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया