झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा, ६ मङ्सिर :
नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ । वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो । गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो । ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षरोपणको जङ्गल क्षेत्रसम्म आइपुगेका हात्तीको बथान छिन्नभिन्न भएर ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जङ्गलतिरै बरालिरहेको जानकारी दिनुभयो । सीमित क्षेत्रफलको जङ्गलमा लगातार हात्तीको सङ्ख्या थपिदै जाँदा मानव–हात्ती द्वन्द्व स्वतः बढिरहेको छ । जङ्गलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन । भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन् ।
चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मोरङको जङ्गलबाट पूर्व लाग्नेबित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाइ गलत भएको बताउनुहुन्छ । “हात्ती घुमन्ते प्राणी हो, तर उसले आहार र सुरक्षित बासस्थान पाउञ्जेल हत्तपत्त ठाउँ छाडिहाल्दैन”, उहाँ भन्नुहुन्छ, “मोरङबाट झापातिर आइपुगेको हात्तीको बथानमा साना बच्चाहरू र किशोर उमेरका हात्तीको सङ्ख्या अधिक छ । उनीहरूलाई माउ हात्तीले डुलाउँदै, खुवाउँदै र ठाउँ चिनाउँदै ढिलो बसाई सार्छन् ।”
भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उहाँ बताउनुहुन्छ । हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उहाँको भनाइ छ ।
झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको जम्काभेट हुन थालेको छ । बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन् । जङ्गलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरू हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ ।
रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेल बताउनुहुन्छ । “मानिसको कुटाइ र लखेटाइका कारण थेत्तरो भएको एक्ले रैथाने हात्तीहरू सिधै मान्छेलाई झम्टिन्छन्”, उहाँ भन्नुहुन्छ, “तर, बथानका हात्ती मान्छेले खेदाउँदा बालबच्चालाई घेराभित्र जोगाउँदै भाग्छन् । हत्तपत्त आक्रमणमा उत्रिदैनन् ।”
उहाँले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताउनुभयो । जङ्गलमा खाने आहारको कमीले भोकाएका हात्तीहरू मान्छेको खेतीपाती र बस्तीतिरै पस्ने भएकाले हात्तीको सङ्ख्या बढेसँगै मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावनालाई मध्यनजर गरेर आमजनसमुदाय र सरोकारवाला निकायहरूले आवश्यक सावधानी अपनाउनु पर्ने उहाँको सुझाव छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया