बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
जनकपुरधाम, ४ साउनः धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रसमेत बनेको छ ।
ढल्केबरदेखि जटहीसम्मको सडक छ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक झुक्किने र दुर्घटना हुनेक्रम बढेको स्थानीयको भनाइ छ । स्थानीय विजय साहले निर्माण व्यवसायीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेको बताउनुभयो । यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेको र मानवीय क्षतिसमेत भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले निर्माण सामग्रीमा समेत खिया लाग्न थालेको छ ।
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार रु १४ करोड आठ लाख २३ हजारको लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते सम्झौता भएको थियो । २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म करिब ४० प्रतिशत मात्र काम भएको छ । सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहले पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित रूपमा काम नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सोही प्रक्रियाका कारण अहिले निर्माण रोकिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार फराकिलो सडकबाट आउने सवारीसाधन एक्कासि साँघुरो पुलमा पुग्दा चालक अलमलिने गरेका छन् । जोखिम न्यूनीकरणका लागि ट्राफिक सङ्केत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना रोकिएको छैन ।
नेपाल–भारत व्यापार, जनकपुरधामको धार्मिक पर्यटन तथा मधेस प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल नबन्दा आवागमन मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको जनकपुरधाम उपमहानगरपालिकाका दीपेन्द्र तिवारीले बताउनुभयो । स्थानीयवासी तथा व्यवसायीले राष्ट्रिय महत्वको यस सडक आयोजनालाई पूर्णता दिन बसही खोलाको पुल यथाशीघ्र निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया