डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस
काभ्रेपलाञ्चोक, १० चैत : जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले २०८१ असोजको बाढीपहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका रोशी गाउँपालिकाका पीडितको सूची सिफारिस गर्ने निर्णय गरेको हो । समितिद्वारा पहिलो चरणमा उक्त गाउँपालिकाका १९९ घर स्थायी निर्माण गर्न तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गरिएको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा गत सालको विपत्तिमा आवासमा पुर्याएको क्षति छानबिन गरी स्थायी आवास निर्माणका लागि सिफारिस गर्न सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार रोशी गाउँपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा स्थायी आवासका लागि सिफरिस सुरु गरिएकाले क्रमशः जिल्लाका अन्य स्थानीय तहका पनि सिफारिस गरिनेछ । सरकारले २०८१ असोजको बाढीपहिरोले क्षति पुर्याएको आवासको स्थायी पुनर्निर्माणका लागि रु चार लाख अनुदान दिने निर्णय गरेको थियो । साथै सोही निर्णयअनुसार रु चार लाखमध्ये सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत तथा स्थानीय तहले २० प्रतिशत व्यहोर्ने नीति बनाइएको थियो । यसअघि जिल्लाको १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई सरकारबाट प्राप्त अस्थायी आवास अनुदान वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीपहिरोले रोशी गाउँपालिकामा १२ जनाको निधन भएको थियो । यस्तै बाढीपहिरोबाट ४८२ पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । यस्तै, दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । त्यसैगरी, ६० खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय तथा चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरो निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शय्याको एक अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो । गत साल असोजको बाढीपहिरोबाट जिल्लामा ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारीमा घाइते भएका थिए । गत चैत अन्तिम साताबाट जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाटै निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया