Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठसमाचारप्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


नारायणगढ। हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारी थालिएको छ ।

मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन मूल समिति र विभिन्न शीर्षकगत उपसमितिहरू गठन गरी सक्रियता बढाएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ ।

मेलाको सफल व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाइ तथा अस्थायी शौचालय व्यवस्था, खानेपानी व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, विद्युत् तथा बत्ती व्यवस्था, डुङ्गा व्यवस्थापन, आकस्मिक उद्धार, स्नानघाट व्यवस्थापन, मूल समितिको सचिवालय सञ्चालन, सूचना, सञ्चार तथा प्रचारप्रसार, मेला सुरक्षा व्यवस्थापनलगायत कार्यका लागि छुट्टाछुट्टै १९ वटा उपसमिति गठन गरिएको उनले जानकारी दिए ।

मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका, चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन तथा सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको बरालले बताए । मेला भर्न आउने भक्तजनका लागि रुट निर्धारण तथा चितवनतर्फको सडक मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए ।

देवघाटस्थित झोलुङ्गे पुलबाट भारी मालसामान ढुवानीमा रोक लगाइसकिएको जनाउँदै निर्देशक बरालले मोटरसाइकलसहित सबै सवारीसाधनको आवतजावत झोलुङ्गे पुलमा निषेध गरिएको बताए । उनका अनुसार पैदल यात्रुहरूले भने पुल प्रयोग गर्न सक्नेछन् ।

सवारीसाधनका लागि दासढुङ्गा पुल तथा ठिमुरा क्षेत्र प्रयोग गर्न सकिने र चितवनतर्फ सवारी पार्किङ गरी डुङ्गामार्फत ५० रुपैयाँ शुल्क तिरेर वारपार गर्न सकिने व्यवस्था मिलाइएको निर्देशक बरालले जानकारी दिए ।

मेलालाई मासु, मदिरा तथा धुम्रपानरहित बनाउने प्रयास गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले बताए ।



तपाईको प्रतिक्रिया