सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल
काठमाडौँ, १९ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ । भाजपा मुख्यालयमा आज उहाँहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ ।
भारत भ्रमणमा रहनु भएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो । प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो । उहाँले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताउनुभएको भाजपाले जनाएको छ ।
अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, सङ्गठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनुभएको थियो । भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको थियो । यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गर्नुभएको थियो ।
उक्त भेटवार्तामा अध्यक्ष नवीनसँगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले पनि सहभागी हुनुहुन्थ्यो । रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर तथा केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले जारी गर्नुभएको विज्ञप्तिअनुसार भेटवार्तापछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया