अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’
भोजपुर, २३ जेठः भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत–साधनका बाबजुद पनि निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा पहुँचमा राख्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो विद्यालय अहिले विभिन्न चुनौतीसँग जुध्दै अघि बढिरहेको छ । विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई मात्र शिक्षक कार्यरत रहेका छन् । एक दरबन्दी रिक्त हुँदा त्यसको पूर्ति करारमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय सञ्चालनका लागि हाल शिक्षक तथा कर्मचारी गरी १५ जना कार्यरत रहेका छन् । तीमध्ये दुई, स्थायी (प्रावि) चार, करार तीन, निजी स्रोत दुई, राहत तीन जना सङ्घीय अनुदानमा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले जानकारी दिनुभयो ।
विसं २०३१ मा स्थापना भएको यस विद्यालयले विगत पाँच दशकदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ । समयअनुसार विद्यालयले व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार गर्ने प्रयास पनि गरिरहेको छ । विविध अभावबीच पनि विद्यालय प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन विशेष पहल गरिएको छ । प्रत्येक विद्यार्थीको विद्यालय भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ । सोही अभिलेखका आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने गरिएको प्रधानाध्यापक मण्डलले बताउनुभयो । प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको यस विद्यालयलाई आर्थिक अभावलेसमेत असर पारेको छ । त्यसका बाबजुद विद्यालयले विगतमा राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ ।
विद्यालयले २०७७ साल र २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा सतप्रतिशत नतिजा ल्याएको थियो । त्यसैगरी २०७८ सालमा ८८ प्रतिशत, २०७९ सालमा ९२ प्रतिशत र २०८० सालमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ । चालु वर्षको परीक्षामा भने १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयको योजना रहेको छ । यस वर्ष समग्र नतिजा कमजोर रहे पनि पालिका उत्कृष्ट छात्रा यही विद्यालयबाट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिनुभयो । “धेरै चुनौतिबीच विद्यालय सञ्चालन गरेका छौँ” प्रधानाध्यापक मण्डलले भन्नुभयो,” यहाँ मुख्य रूपमा जनशक्ति, भौतिक संरचना तथा आर्थिक अभाव छ ।” नियमित कक्षा सञ्चालन, विद्यार्थीको हाजिरी व्यवस्थापन, शैक्षिक मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले स्रोतसाधन र जनशक्ति अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई सहज तथा निरन्तर शिक्षा प्रदान गर्नु प्राथमिकता रहेको बताउनुभयो ।
आर्थिक श्रोत र जनशक्ति अभाव विद्यालय सञ्चालनको मुख्य चुनौती बनेको उहाँको भनाइ छ । “हामीसँग पर्याप्त दरबन्दी र पूर्वाधार छैन, उहाँले भन्नुभयो,” तर पनि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ ।” विद्यालय सञ्चालन तथा ऋण तिर्न देउसी–भैलोलगायत विभिन्न गतिविधि सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । हाल विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षा कोठा अभावका कारण पठनपाठनमा चुनौती थपिएको छ । कोठा अभावमा विज्ञान प्रयोगशाला र कक्षाकोठा एउटै स्थानबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले प्रयोगात्मक शिक्षामा असर पार्ने गरेको विद्यालयले जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया