रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने
नारायणगढ (चितवन), २८ जेठः विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् ।
हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ । ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिँदै सोसाइटीका अध्यक्ष अञ्जन दवाडीले संस्थाले विगत पाँच वर्षदेखि रक्तदान तथा रक्तदान प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सोसाइटीले विशेषगरी रक्त व्यवस्थापनको क्षेत्रमा विगत पाँच वर्षदेखि उल्लेखनीय काम गर्दै आएको छ । अघिल्लो वर्ष विश्व रक्तदाता दिवसका अवसरमा विभिन्न क्षेत्रका अभियन्ता र रक्तदातालाई सङ्गठित गरी पहिलो रक्तदान महोत्सव आयोजना गरेका थियौँ ।” उहाँका अनुसार गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सव नेपालमै एकै दिनमा सबैभन्दा बढी रगत सङ्कलन भएको कार्यक्रममध्ये एक थियो ।
उक्त महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो । दवाडीले रगतको अभाव न्यूनीकरण गर्नाका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा जगाउने उद्देश्यले गत वर्षको सफलतापछि यस वर्ष दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मानवताको महान् अभियानमा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रम सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो । महोत्सव सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान अत्यन्त सकारात्मक र मानवीय कार्य भएको उल्लेख गर्दै यसको सफलताका लागि आवश्यक सहयोग रहने बताउनुभयो । उहाँले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य अवस्थाका कारण आफू रक्तदान गर्न नसक्ने भए पनि आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा गर्नुभयो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आफ्ना मातहतका सुरक्षाकर्मीलाई रक्तदानका लागि प्रेरित गर्ने बताउनुभयो ।
उहाँले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । महोत्सवका लागि विभिन्न अभियन्ता, स्थानीय तहका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाले पनि रक्तदान गर्न आह्वान गर्दै आएका छन् ।
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया