उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ
उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् । आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ । विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका उत्तर कोरियासम्बन्धी मानव अधिकार विशेष प्रतिवेदक एलिजाबेथ साल्मोनले फेब्रुअरीमा देशमा खाद्यान्न अभाव प्रमुख मानवीय चुनौती बनेको बताउनुभएको थियो ।
उहाँका अनुसार पर्याप्त खाद्य उपलब्ध नहुनुले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । प्योङयाङको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले मङ्गलबार देशका विभिन्न क्षेत्रमा सुक्खा खेतमा धान खेती विस्तार भइरहेको जनाएको छ । सामान्यतया धानखेतीका लागि प्रशस्त पानी आवश्यक पर्ने भए पनि यस्तो विधि सिँचाइ सीमित हुँदा वा वर्षामा निर्भर रहँदा प्रयोग गरिन्छ । यसअघि अप्रिलमा केसीएनएले देशले ‘असामान्य’ र ‘गम्भीर’ खडेरीको सामना गरिरहेको चेतावनी दिएको थियो र बाली जोगाउन विशेष कदम चालिएको उल्लेख गरेको थियो ।
त्यसयता खडेरीको अवस्था अझै चुनौतीपूर्ण रहेको विभिन्न रिपोर्टहरूले देखाएका छन् । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाको सरकारी टेलिभिजनले गत महिना पश्चिमी क्षेत्रमा पर्ने दक्षिण ह्वान्घे प्रान्तका विभिन्न स्थानमा गम्भीर खडेरीको अवस्था देखाएको थियो । उक्त क्षेत्र देशको प्रमुख अन्न उत्पादन केन्द्र मानिन्छ । विशेषज्ञहरूका अनुसार पछिल्ला घटनाक्रमले उत्तर कोरियाको कृषि क्षेत्रमा पानीको अभाव गम्भीर बन्दै गएको सङ्केत गर्छ । डोङ्गगुक विश्वविद्यालयका प्राध्यापक किम योङ–ह्युनले पानीको उपलब्धता घट्दा सुक्खा खेतको धान वैकल्पिक उत्पादन प्रणालीका रूपमा प्रयोग गरिने बताउनुभयो ।
उहाँले उत्तर कोरियाले यस्तो खेती विस्तार गरिरहेको तथ्यले यस वर्षको अन्त्यसम्म खाद्य उत्पादनबारे चिन्ता बढ्न सक्ने सङ्केत दिने बताउनुभयो । उत्पादनमा कमी आए खाद्यान्न अभाव अझ गहिरिन सक्ने उहाँको भनाइ छ । इवा वुमन्स युनिभर्सिटीका उत्तर कोरियाली अध्ययनका प्राध्यापक पार्क वोन–गोनले पनि खडेरीको अवस्था उल्लेखनीय रूपमा सुधार नभएको आकलन गर्नुभयो । उहाँका अनुसार उत्तर कोरियाले प्रत्येक वर्ष करिब पाँच लाखदेखि १० लाख टनसम्म खाद्यान्न अभाव झेल्दै आएको छ । विश्लेषकहरूका अनुसार जलवायुजन्य जोखिम, सीमित कृषि प्रविधि र दीर्घकालीन आर्थिक कठिनाइका कारण उत्तर कोरियाको खाद्य सुरक्षा चुनौती आगामी दिनमा अझ गम्भीर बन्न सक्ने देखिएको छ।
ताजा अपडेट
- उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
- नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
- उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ
- फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे
- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
- सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् ।
- प्रतिनिसभामा मन्त्री अनुपस्थित, पन्ध्र मिनेटका निम्ति बैठक स्थगित
- अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया