उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।
बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो”, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्नुहुन्छ, “अब सुरु हुने नयाँ आर्थिक वर्ष २०८३/८४ मा यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन् ।” यसले बालविवाहलाई निरुत्साहित गर्नसँगै कानुनअनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ ।
गत मङ्गलबार प्रस्तुत नीति तथा कार्यक्रमभित्रको यो व्यवस्थाबारे समाजका सबैतिरबाट हौसला पाइएको उहाँले बताउनुभयो । यसअघि २०८० साल चैत ५ गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगरप्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई रु ५० हजार नगद प्रोत्साहनको घोषणा गर्नुभएको थियो । सोअनुसार हालसम्म बर्दिबास–१२ को एक जोडीले मात्र प्रोत्साहन रकमको दाबी गरेर लिएका नगर कार्यपालिकाको कार्यालयको अभिलेखबाट देखिन्छ । जम्मा १४ वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसहर समुदायको बसोबास छ ।
तर यो उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोेत्साहन रकम एक जोडीले मात्र लिनुले यिनीहरूमा अझै बालविवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिबास–२ का सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउनुहुन्छ । अहिले एक लाख हाराहारीको जनसङ्ख्या भएको नगरपालिकामा यहाँका १३ वडाहरू पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । अब बर्दिबास–१२ मात्र बालविवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ । नगरले आउने आर्थिक वर्षदेखि लागू हुनेगरी निर्णय गरेको २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई रु ५१ हजार प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
नगरका आमसमुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरुष, महिला दुवैले पाउने यसअघिदेखिको व्यवस्था कायम नै राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पार्नुभयो । मुसहर जाति समुदायमा बालविवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरुष, महिला दुवैलाई प्रोत्साहन दिइने व्यवस्था कायम नै राखिएको उहाँको भनाइ छ । नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया