Techie IT
  • सोमबार, साउन ४, २०८३ / Monday, July 20, 2026
गृहपृष्ठसमाचारकुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास

कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास


महेन्द्रनगर, ३ साउन : खड्के बुढा दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरमा बस्न थालेको २०२४ सालदेखि हो । भारतसँग सिमाना जोडिएको कुतियाकवर गाउँका तत्कालीन समयमा १०० भन्दा बढी परिवार बस्थे । तर अहिले ३२ वटा परिवार मात्रै गाउँमा छन् । भौगोलिक रुपले जिल्लाकै विकट बस्तीमा पर्ने कुतियाकवरमा स्थानीयले लामो समयदेखि बाढी, कटानको समस्या खेप्दै आउनुपरेको बुढाको भनाइ छ । “विसं २०२४ मा बस्ती बस्दा रहरले भन्दा पनि सीमाको हेरचाह गर्ने मनसायले बसेको थियो, विगतको अन्धकारबाट उज्यालोतर्फ आए पनि बस्तीमा बाढी र कटानको त्रास ठूलो छ, यसै कारणले यहाँबाट बसाइँ सर्नेको सङ्ख्या बढ्दो छ ।

कञ्चनपुरको महाकाली नदी र जोगबुढा नदीको दोसाधा नजिकै पर्ने उक्त बस्तीमा हरेक वर्ष वर्षातका बेला नदी कटानले प्रताडित हुने गरेको बुढाको भनाइ छ । “दुई नदीको दोसाँधमा ५०÷६० मिटर तटबन्ध बनाएर बस्ती जोगाउनुपर्ने थियो”, उहाँले भन्नुभयो, “दुई साताअघि आएको बाढीले आठ वटा जाली भत्काउनुका साथै दुई स्पर बगाएर क्षति गरे पनि गाउँलेले श्रमदानबाट अस्थायी तटबन्ध बनाएका छौँ ।” विसं २०७५ अघिसम्म कुतियाकवरवासी बस्ती आवातजावत गर्ने जोगबुढा नदीमा डुङ्गाको साहारा लिन्थे ।

आठ वर्षअघि जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा विस्थापित भयो । “डुङ्गाको कठिन यात्राबाट झोलुङ्गे पुल बनेपछि सहज भयो, गाउँमा बिजुली बत्तीलगायतका विकास पनि भयो”, उहाँले भन्नुभयो, “तर विसं २०३९ यता बाढी र कटानको त्रासदीबाट मुक्त हुन सकेनौँ ।” कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर सुनारले बस्तीमा बाढीका बेला उद्धारका लागि नेपाली सेना र दातृ निकायले गरी दुई वटा सेफ हाउस निर्माण गरेका छन् । “दुई नदीले यहाँ सयौँ बिघा जमिन काटिसक्यो, अनुगमनका लागि नेतादेखि प्रशासक आउँछन्”, उहाँले भन्नुभयो, “हामी सुख र रहरले सीमामा बसेका होइनौँ, बस्तीसँगै माटो जोगाउन बसेका हौँ । सीमाका रक्षक भयौँ तर वास्ता कहीँबाट भएन ।” पछिल्लो समय जङ्गली जनावर र छाडा पशुचौपायाले गाउँमा निकै नोक्सानी पु¥याइरहेको सुनारको भनाइ छ ।

तटबन्ध निर्माणको काम अझै ३५/४० मिटरमा बाँकी छ”, उहाँले भन्नुभयो, “भारतले दशगजा क्षेत्रबाट आफ्नोतर्फ अहिले पनि तटबन्ध बनाएर कटान जोगाउने काम गरिरहेको छ ।” दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले उक्त क्षेत्रमा ७०० मिटर तटबन्ध बनिसकेको बताउनुभयो । “बस्तीको पानीको निकास नहुँदा ३० मिटर तटबन्ध भत्किएको थियो, अहिले सबैको सहयोगले अस्थायी रुपमा तटबन्ध जोगाउने गरी काम गरिएको छ”, उहाँले भन्नुभयो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, महेन्द्रनगरका प्रमुख राजनराज भट्टराईले कुतियाकवरको पानी निकासको काम गरिने बताउनुभयो ।



तपाईको प्रतिक्रिया