बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
सिद्धार्थनगर (भैरहवा), ११ जेठः सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ ।
आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ ।
आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ ।
आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ ।
हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताउनुभयो । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ ।
पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ । आयोजनाको प्रारम्भिक लागत अनुमान करिब रु १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब रु सात अर्बमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया