चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ ।
यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ । यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी हुनुहुन्छ । चिनियाँ अधिकारीहरूले लाइलाई उहाँको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् ।
हङकङमा जन्मिनुभएका तथा त्यहीँ हुर्किनुभएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गर्नुभएको छ । उहाँलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ ।
यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ । यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।
पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो ।
विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ । चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो ।
त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ । गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो ।
‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया