दमौली (तनहुँ), १३ जेठः कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो । खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नाका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धिसम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे गाउँपालिका–२ मा धान बालीमा मरुवा रोग देखिएको पाइएको छ । धानको वृद्धि प्रभावित हुने तथा बोट सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापन विधिबारे कृषकलाई जानकारी दिएको थियो । म्याग्दे गाउँपालिका–३ मा धान बालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उक्त किराले धानको बोटमा क्षति पु¥याई उत्पादनमा असर गर्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन किसानलाई सुझाव दिइएको परियारले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका–१ मा भने विभिन्न लहरे तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखिएको अनुगमन टोलीले पहिचान गरेको छ । विशेषगरी लौका, करेला, काँक्रालगायत बालीमा देखिएको उक्त रोगका कारण पात पहेँलो हुने, बोट कमजोर बन्ने तथा उत्पादन घट्ने समस्या देखिएको किसानले बताएका छन् । प्राविधिकहरूले रोग नियन्त्रणका लागि खेत व्यवस्थापन, उचित विषादी प्रयोग तथा सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । अनुगमनका क्रममा किसानले यस वर्ष पर्याप्त वर्षा तथा मौसम प्रतिकूलताका कारण गत वर्षको तुलनामा उत्पादन घटेको गुनासो गरेका थिए ।
लगातारको वर्षा, असिना तथा हावाहुरीका कारण धान, तरकारी र मकै बाली प्रभावित भएको किसानको भनाइ थियो । किसानले विषादी प्रयोगसम्बन्धी अन्योल, समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुने समस्या तथा वर्णशङ्कर (हाइब्रिड) जातको कानुनी नियमनसम्बन्धी जिज्ञासा प्राविधिक टोलीसमक्ष राखेका थिए । उनीहरूले बजारमा पाइने बीउको गुणस्तर, विषादीको सही प्रयोग विधि र सरकारी नियमन प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएका थिए । सूचना अधिकारी परियारका अनुसार अनुगमन टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै समस्या समाधानका सम्भावित उपायबारे जानकारी गराएको छ ।
बाली संरक्षण, रोग तथा किराको पहिचान, सन्तुलित विषादी प्रयोग, माटो व्यवस्थापन तथा उत्पादन वृद्धिसम्बन्धी प्राविधिक पृष्ठपोषण दिइएको उहाँले बताउनुभयो । “किसानले खेतबारीमै भोगिरहेका समस्या बुझेर समाधानका उपाय दिनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “प्राविधिक टोलीले रोग र किराको पहिचानसँगै तत्काल अपनाउनुपर्ने व्यवस्थापनका उपायबारे सुझाव दिएको छ ।” कृषि विकास कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता संयुक्त प्राविधिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया